एक लोकतन्त्रवादीको अनुभवको बकपत्र–१

एक लोकतन्त्रवादीको अनुभवको बकपत्र–१


  • दामोदर पौडेल

साथीहरूले बारम्बार भन्ने गरेका छन् कि समसामयिक लेखनी लेखकको हैसियतले कहिलेकाहीँ आफ्नो व्यक्तिगत अनुभव–अनुभूतिबारे पनि लेखे हुने ! विशेषतः पञ्चायती व्यवस्थामा मेरो राजनीतिक उतारचढाव र गतिविधिबारे साथिहरूबाट सवाल आउँछन् ।

मेरा पिता कमलाकान्त पौडेल पञ्चहरूको विरुद्धमा हुनुभएकोले पनि पञ्चायती व्यवस्थासँग म शुरुदेखि नै विमति राख्थेँ । उहाँको पञ्चायत विरोध भनेको मूलतः त्यस समयमा पञ्च प्रतिनिधिको रूपमा रहनेहरूको गलत कार्यको विरोध थियो ।

त्यही परिवेशमा म प्रवेशिका दिएपछि काठमाडौं गएँ । त्यहाँ अचानकै लमजुगको युवा भएको नाताले सूर्य सुवेदीसँग अस्कल क्याम्पसको उत्तरपूर्वमा केही साथीहरूका साथमा भेट भयो । उनले मलाई गण्डकी विद्यार्थी परिषद्को सदस्य बनाए । म त्यस समयबाट कम्युनिस्ट बनाइएको थिएँ, किनभने काङ्ग्रेसनजिक विद्यार्थीको गण्डकी छात्र समिति भन्ने सङ्गठन थियो । सूर्य सुवेदी केही राजनीतिक कुरा पनि गर्थे । अहिले पनि उनले मलाई चिन्छन् र बेलायतमा कानुनका प्राध्यापक छन् । उनी पहिला मनमोहन अधिकारीको कम्युनिस्ट पार्टीसमर्थक विद्यार्थी सङ्गठनको नेता थिए । उनको सङ्गठनको नाम प्रगतिशील विद्यार्थी युनियन थियो ।

कम्युनिस्ट विचारले मानिसलाई आकर्षित गर्ने केही कारण थिए वा सङ्गतले हो त्यो थाहा छैन । सायद कसैले कम्युनिस्टसमर्थक सङ्गठनमा लाग्न भन्यो म बनेँ । कम्युनिस्ट बनेपछि गरिब र धनी बराबर, शोषण नहुने भन्ने प्रचार हुन्थ्यो, सायद कम्युनिस्ट व्यवस्था आएपछि काठमाडौंका ठूला घरमा पनि पैसा नतिरी बस्न पाइने लोभ पनि थियो कि ? मलाई सबैभन्दा प्रभाव त माओ त्से तुङ मर्दा नै परेको हो । उनी मर्दा मलाई चिनियाँ राजदूतावासमा जाऊँ भनियो । म गएँ, वातावरण नै भावुक, सबै उदास थिए । राजदूत भनेका मानिसले मसँग हात पनि मिलाए । आफ्नो देशका नेतामाथि त्यत्रो सम्मान, सायद यो सन् १९७६ को कुरा हो । त्यसको केही समयपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो । म भारतीय राजदूतावासमा साथीले जाऊँ भनेर गएँ । तर, भारतीय राजदूतावासमा मानिसहरूमा कुनै दुःख झल्कँदैनथ्यो । शोक–पुस्तिकामा सही गरियो र फर्किइयो । भारतको लोकतन्त्र र चीनको कम्युनिस्ट व्यवस्थाको भिन्नता ती दुईवटा नेताहरूका देहावसानले पनि देखाएजस्तो लाग्यो ।

पछि बुझ्दै जाँदा काङ्ग्रेस भनेको शोषक–सामन्तको पार्टी हो, भारतीय दलाल हो, गरिबमारा हो जस्ता कुरा सुनेकोले काङ्ग्रेसप्रति नकारात्मक सोच आउनु स्वाभाविक थियो । पोखरामा पढ्न जाँदा संयोगले अर्थशास्त्रका प्राध्यापक हुनुभएका कम्युनिस्ट नेता कैलाश कार्कीको दाजुसँग भेट भयो । अर्का कम्युनिस्टनजिकका प्राध्यापक बटुककृष्णसँग पनि भेट भयो । एउटै घरमा नजिकै रहने हुँदा उहाँहरूसँग मेरो सङ्गत भयो । उहाँहरूले आमा, पुँजी, माओका रेड बुकहरू (मैले सम्झेसम्म मुख्यमुख्य कुरा मात्र लेखिएका साना र धेरै लेखिएका ठूला रेडवुक हुन्थे । उहाँहरूले कम्युनिस्ट पार्टीको घोषणापत्र, थ्याङ्कयु मिस्टर ग्लाडजस्ता केही पुस्तकहरू) पढ्न दिनुभयो ।

त्यसबाट मलाई मानव र समाज विकासक्रम, पुँजीको विकास, आदिम साम्यवाददेखि साम्यवादसम्मको परिकल्पना, अतिरिक्त श्रमको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, सर्वहाराको अधिनायकवाद आदिका बारेमा केही जानकारी भयो । समानता, विकास र मुक्तिको माध्यम नै कम्युनिस्ट विचार र व्यवस्था हो भन्ने लाग्न थाल्यो । एकजना राजनीतिमा चासो नराख्ने अर्थशास्त्रका प्राध्यापकले बालकले जसरी सायद हामीलाई सम्झाउन होला भने कि म कम्युनिस्ट भएको टेन्सन नहुने, सरकारले लगाएको काम गर्ने, सरकारले नै खान, बस्न, लगाउन, उपचार गर्न, पढाउन दिने, विकास गर्ने व्यवस्था हो भनेर भने । उनले मलाई सामान्य भाषामा कम्युनिस्ट विचार बुझ्न सजिलो बनाइदिए ।

त्यसपछि कोठा सर्दा हालका काङ्ग्रेसी नेता त्यतिबेला नेविसङ्घका नेता ऋषिकेश तिवारी बसेको घरमा नै बस्न पुगियो । उनी सादा जीवन बिताउँथे र असल मानिसमा चिनिन्थे । २०३६ सालको आन्दोलन शुरु भयो । हामी आन्दोलनमा पञ्चायतको विरुद्धमा लाग्यौँ । पोखरामा सबै विरोध–जुलुसमा जाने, प्रहरी र मण्डलेको लाठी खाने हामीहरूको दिनचर्या नै बन्यो ।

त्यसै समयको कुरा हो– रत्न मन्दिरनजिक नेविसङ्घको मिटिङ रहेछ । मलाई कसैले जाऊँ भन्यो, म गएँ । त्यहाँ बीपीले लेखेको प्रजातन्त्र र समाजवाद भन्ने सानो पुस्तिका पढ्न पाइयो । त्यहाँ लेखिएको रहेछ कि काङ्ग्रेसले सङ्घर्ष गर्दछ, तर अधिकार सबैलाई दिन्छ । काङ्ग्रेस पाँच वर्षमा जनताले मत दिन पाउने र मन नपरेमा सरकार बदल्न पाउने व्यवस्था चाहिन्छ । समानता र विकास चाहिन्छ र त्यो भए–नभएको देखिने र नभए विरोध गर्न पाउने माध्यम लोकतन्त्र हो भन्ने लेखिएको थियो वा सँगै रहेका अरू पुस्तकमा पनि ती कुरा लेखिएका थिए ।

बीपीको त्यो भनाइले मेरो जीवन–यात्रा बदलियो । मैले समानता चाहिन्छ, तर लोकतन्त्र नभए नेताले जे पनि गर्न पाउँछन् । लोकतन्त्र भए पाँच वर्षमा गल्ती गर्ने दल र नेतालाई फाल्न पाइन्छ भन्ने बुझेँ । मेरो विचारमा काङ्ग्रेसले जनताको पक्षमा काम गरेन भने त्यसलाई गरिब जनताले फाल्छन् र राम्रो गरेमा जनताले राख्छन् । तर, कम्युनिस्टले गल्ती गरेमा अधिनायकवाद हुने हुँदा जनताले फाल्न पाउँदैनन् भन्ने छाप पऱ्यो । कुरा जति राम्रा गरे पनि गल्ती गरेमा फाल्न नपाइनु भनेको खोरमा लग्नको लागि मीठो कुरा खान दिएजस्तै हो र खोरमा परेपछि आफ्नो इच्छाअनुसार खोरमा बस्नेलाई जे पनि गराउन सकिन्छ ।

बहुदलको लागि भएको आन्दोलनमा पोखराको रामकृष्ण टोलमा प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गरेछ । हामी केही अगाडि बढिसकेका थियौँ । सायद विमला वा विष्णु गुरुङ दिदीसमेतलाई प्रहरीले घेरेछ । उहाँहरू कराउनुभयो । हामी फर्कियौँ । प्रहरीले अन्धाधुन्ध लाठी चलाउँदा मलाई लागेर लडेँछु । अरू कता पुगे थाहा भएन । प्रहरीले मलाई भ्यानमा राखेर दिनभरि पिट्दै बजारमा नै घुमायो । मलाई दिनभरि पानी खान पनि दिइएन । सायद मिनरलवाटर त्यतिबेला थिएन । धारामा गएर पानी खान प्रहरीले दिएन । मेरो के हाल छ कसैलाई थाहा हुने कुरा पनि भएन । सायद म मारिएको भए मेरो नाम अहिलेसम्म पनि बेपत्तामा हुने थियो । प्रहरीले भ्यानमा राखेर बन्दुकको कुन्दाले फिला हात आदिमा ठोकेर अड्याउने र टाउको समेतमा लाठीले ठोक्किने गरेर राख्थे । उनीहरूलाई हामी तिमीहरूका भाइ–छोराजस्तालाई किन यसो गरेका भन्दा हाकिमहरूले बिहानदेखि खान नदिएको र त्यो भएको तिमीहरूले नै गर्दा हो भन्थे । बिचराहरूलाई आन्दोलनबारे पनि त्यति थाहा हुने रहेनछ ।

राति प्रहरीले लेकसाइडको मुखमा रहेको जिल्ला अदालत भएको ठाउँभन्दा केही माथि रहेको प्रहरीको कार्यालयमा लग्यो । त्यहाँ त अरू दुईजना विद्यार्थी पनि हुनुहुँदो रहेछ । उहाँहरूलाई पनि प्रहरीले आन्दोलनकै कारण पक्रेर दुःख दिएको रहेछ । एकजना मायानाथ अधिकारी नामको जस्तो लाग्छ र उहाँ चितवनमा कलेजतिर पछि पढाउनु पनि हुन्थ्यो । अर्का कोइराला थरका जस्तो लाग्छ । उनी पछि एनजीओमा काम गरेकोसम्म थाहा छ । २०३६ सालको आन्दोलनमा थुनिनेमा हामी तीनजना मात्र हौँ जस्तो लाग्दछ ।

हामी तीनजनालाई कति दिन–रात प्रहरीले थुन्यो भन्ने त याद छैन । तर, प्रहरी र प्रहरीका हाकिम जो डल्ले रहेछन् उनीहरूले दिनदिनै बिहान र बेलुका फिला, तिघ्रा, पिढ्युँ आदिमा हामीलाई जुत्ता लगाएका लात्तले हान्थे । हामीहरू हात उठाउँदै ऐया–ऐया आदि भन्थ्यौँ । उनीहरूले फोटा खिच्थे । अब तिमीहरूले कुनै जागिर पाउँदैनौ आदि भन्थे ।

खानेकुरामा प्रहरीले अहिलेजस्तो खाना दिँदैनथ्यो । चिउरा र केही दलमोठ हो वा चिउरा र नुन दिन्थ्यो । खाएर पानी खानुपथ्र्यो । त्यो पनि हामीहरूकै पैसाले किनेको हो । तर, हामीसँग पैसा पनि कम थियो । कसैले सहयोग गर्ने अवस्था थिएन वा कसैलाई थाहा थिएन । सुत्न चिसो छिँडी हुन्थ्यो र टाट नै ओढ्ने र ओच्छ्याउने हुन्थ्यो । वैशाख–जेठको समय हुनुपर्दछ, तर बिहान जाडैजस्तो थियो । प्रहरीले अराष्ट्रिय तत्व, राजाको विरोध गर्नेहरूलाई मारिन्छ समेत भन्दा डर पनि लाग्नु स्वाभाविक हुन्थ्यो ।

तर, केही दिनपछि सायद के कारणले हो वा केन्द्रमा नेताहरूसँग वार्ता भएर हो हामीलाई छोडियो । कलेज बन्द भएको थियो, हामीहरूको जाँच पनि सकिएको थियो । घर गइयो । हामीहरूको थुनाइको त्यो यात्रा धेरैलाई वा आन्दोलनकारी कसैलाई पनि थाहा नै भएन ।

त्यसो त पोखराका अरू दुईवटा अनुभव पनि छन् । बीपी कोइराला पोखरामा आउन लाग्दा आउन नदिन केही मण्डलेहरूलाई प्रहरी र अञ्चलाधीशले बोलाइबोलाई हवाइजहाज ग्राउन्डमा लगेका थिए । सायद सादा पोसाकमा प्रहरी पनि लगिएका थिए । काङ्गे्रसहरूलाई थुती–थुती पिट्ने, थुन्ने काम भएको थियो । म पनि बेसरी पिटिएको छु । टाउको फुटेको थियो । बीपीविरोधीले जहाज ग्राउन्ड कब्जा गरेकोले जहाज अवतरण गर्न नसकिने सन्देश दिएर जहाज अवतरण भएन । बीपीको स्वागतमा धेरै मानिस आएका थिए । जहाज ग्राउन्डको पश्चिमको पर्खालतिर धेरै मानिसहरू उभिएका थिए । त्यसपछि बीपी दमौलीसमेतमा बहुदलको पक्षमा भाषण गर्न आएका थिए । उनले त्यहाँ पनि साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ भनेका थिए । उनले समानता र विकासको व्यवस्थित विचारलाई लोकतन्त्रले गलत भएमा गलत जतिलाई हटाएर राम्रोलाई राख्न र नयाँ राम्रोलाई प्रवेश गराउन सहयोग गर्दछ भन्ने मान्यता राखेर नै त्यो विचार राखेका थिए ।

नेपाली काङ्ग्रेसका महामन्त्री परशुनारायण चौधरीको नाम पनि त्यतिबेला चर्चामा रहन्थ्यो । उनी पनि पोखरा आएका थिए । तर, उनलाई त प्रहरीले तिनै मण्डले गुण्डा लगाएर पिटेका थिए । राष्ट्रवादी विद्यार्थी मण्डले भनिने त्यो सङ्गठनका हर्ताकर्ता अर्जुनजंग शाही थिए । उनी पछि प्रहरीको ठूलै पदबाट निवृत्त भए । जहाज ग्राउन्डभन्दा दक्षिणतिर परशुनारायण चौधरीलाई लगिएको थियो । त्यतिबेला कुनै कुँवर भन्ने काङ्ग्रेसका नेतालाई पनि सरकारले धेरै दुःख दिएको याद छ । (क्रमशः)