ठेक्का बदरको माग गर्दै प्रदर्शनमा उत्रिए साधुसन्त

ठेक्का बदरको माग गर्दै प्रदर्शनमा उत्रिए साधुसन्त


हेमशंकर सिंह, राजविराज

मन्दिरको पोखरी नगरपालिकाले ठेक्का लगाएपछि ठेक्का बदरको माग गर्दै साधुसन्तहरुले विहिबार खडक नगरपालिकामा प्रदर्शन सहित धर्ना दिएका छन् ।

साविक खोजपुर गा.वि.स. वडा नं. ५ खेसराहा हाल खडक नगरपालिका वडा नं. ८ स्थित रामजानकी मन्दिर कलवारी व्यवस्थापन समिति मातहतमा रहेको पोखरी नगरपालिकाले ठेक्का लगाएपछि साधु सन्तहरु प्रदर्शनमा उत्रेका हुन् ।

मन्दिरको साविकको महन्थ स्व. दुखनी देवी दासको नाममा २००४ सालको नम्बरी प्रकाशनमा रहेको सो पोखरी रामजानकी मन्दीरले भोगचलन गर्दै आएको थियो । तर पनि नगरपालिकाले पोखरी ठेक्कामा लगाएपछि प्रमाणसहित नगरपालिकामा निवेदन दिए पनि सोको वास्ता नगरी एकतर्फी रुपमा ठेक्का लगाएकाले आन्दोलनमा उत्रिनु परेको मन्दिर व्यवस्थापन समितिका विन्देशवरी कलवारले बताए ।

उक्त पोखरी यसअघिको वर्षमा मन्दिरले नै ठेक्का लगाए पनि नगरपालिकाले लगाएको दोहरो ठेक्का वदरको माग साधुसन्तहरुले गरेका छन् । पोखरीकै आम्दानीवाट मन्दिरको पूजाआजा कार्य भइरहेको भन्दै उनीहरुले ठेक्का बदरका लागि गएको मंसिर २७ गते सञ्चालक समिति र स्थानीय भद्र भलादमीको बैठक बसी मंसिर २८ गते नगरपालिकामा निवेदन दिए पनि ठेक्का वदर नभएपछि आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष कलवारले बताए ।

ठेक्का बदर नहुन्जेल आफुहरुको शान्तिपूर्ण जारी रहने जानकारी समेत उनले दिएका छन् । हिन्दु बाहुल्य रहेको सो वडा र नगरपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालबाट मो. ईसराईल मिया र मेयरमा फोरम नेपालकै हेमायू हक निर्वाचित भएका छन् ।

सो सम्बन्धमा वडाअध्यक्ष मियाले भने उक्त पोखरी मन्दिरको नभई सार्वजनिक रहेकाले ठेक्का लगाइएको दाबी गरे ।