अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९–१३ मा


दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म हुने भएको छ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले बिहीबार पत्रकार सम्मेलन गरी यसपटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जानकारी दिएको छ । महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन् । त्यसका लागि ६ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् । बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिनेछ । कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा चलचित्र पनि देखाइने बताइएको छ ।

महोत्सवमा सहभागी चलचित्रमध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र जगतका ख्यातिप्राप्त चलचित्रविद सम्मिलित निर्णयकमण्डलबाट मूल्यांकन गराई पुरस्कार प्रदान गर्ने तयारी छ । सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र एक हजार डलरसहित गौतमबुद्ध अवार्ड तथा एक छोटो चलचित्रलाई पाँच सय डलर र ट्रफीसहित माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ । नेपाल पानोरामा प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट उत्कृष्ट ठहर भएको फिचर चलचित्र रु. पचास हजार र ट्रफी तथा छोटो चलचित्रमा उत्कृष्ट भएकालाई रु. पच्चीस हजार र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा ०१५ पछिका नेपाली र २०१६ पछि प्रदर्शन भएका अन्तर्राष्ट्रिय चलचित्र देखाइनेछ । नेपाल, भारत, बंगलादेश, चीन, श्रीलंका, जापान, फ्रान्स, जर्मनी, इटलीलगायत देशका चलचित्र रहेका छन् । प्रतियोगिताका मुख्य निर्णायक नीर शाहले महोत्सवले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ले बताए ।

पत्रकार सम्मेलनमा चलचित्र निर्देशक यादव खरेलले भाषा र संस्कृतिलाई मनोरञ्जनात्मक तरिकाबाट पस्कनु नै चलचित्र भएकाले यसलाई मनोरञ्जनको साधनका रूपमा मात्रै नलिन आग्रह गरे । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष खरेलले राष्ट्रिय चलचित्रसम्बन्धी नीति निर्माण भइसके पनि कार्यान्वयन नभएको भन्दै सरकाले यसको सफल कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रले नेपाली भाषा र संस्कृतिलाई समावेश गर्न सके मात्र उक्त चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने बताउनुभयो । पहिलोपटक यस्तो महोत्सव गत वर्ष पोखरामा गरिएको थियो ।