पनौतीमा तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !

पनौतीमा तीन सय ६० भैँसीलाई सुत्केरी भत्ता !


काभ्रेको पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३ सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षदेखि सुत्केरी भत्तास्वरूप प्रतिभैँसी रु. पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ ।

नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् । उनी भन्छन्, ‘हामीले यस वर्ष भैँसी संरक्षण अभियानअन्तर्गत कृषकलाई व्यावसायिक भैँसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेका हौँ ।’ उनका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्य रूपमा बिमा गरेको हुनुपर्छ ।


जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषणस्वरूप कृषकले २० हजार भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ । साथै, कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिस र नागरिकताको प्रतिलिपि पेस गरेपछि नगरपालिका कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ ।

नगरले चालू आवमा १२ लाख रकम छुट्याएर सुत्केरी भैँसीभत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘हामीले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेका हौँ ।’

वडा नं. १२ की भावना थापाले नगरपालिकाले सुत्केरी भत्ता र अनुदान दिन थालेपछि आफूले अर्को एउटा भैँसी थप्ने योजना बनाएको बताइन् । उनले भनिन्, ‘घरमा दुईवटा छन्, अब एउटा थप्छु, अब भैँसीले पाडो होइन पाडी पाओस् भन्ने चाहना छ ।’ चालू आवको साउनदेखि हालसम्म सुत्केरी भत्ताका लागि भन्दै १०७ वटा माग फारम भरिएको नगरका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताए ।

यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन् । उनी भन्छन्, ‘भैँसी सुत्केरी भएपछि कृषकले जानकारी दिनुहुन्छ, हामी वडाका जनप्रतिनिधिको रोहवरमा पाडा वा पाडीको जन्मदर्ता गर्छौं ।’ उनका अनुसार चालू आवको हालसम्म रु आठ लाख सुत्केरीभत्ता वितरण गरिएको छ ।

सापकोटाका अनुसार नगरमा हाल चार हजार ६ सय ४७ भैँसी छन् । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पु¥याउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।