सभामुख कप राष्ट्रिय महिला भलिबल

सभामुख कप राष्ट्रिय महिला भलिबल


दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा माघ २ गते बुधबार भएको लिग खेलमा सफलता हात पार्दै प्रदेश ५ ले गण्डकी प्रदेश, प्रदेश १ ले प्रदेश ३, प्रदेश २ ले नेपाल पुलिस र एपीएफले नेपाल आर्मीसँग क्वार्टरफाइनलमा भेट पक्का गरेका छन् ।

लिग खेलमा प्रदेश १ लाई ३–२ को कडा चुनौती दिएको सुदूरपश्चिमले नतिजालाई आफ्नो पक्षमा पार्न नसक्दा पराजय व्यहोरेको छ । पहिलो सेटमा २५–१३ को सहज जित निकालेको प्रदेश १ ले दोस्रो र तेस्रो सेट १५–२५ र १७–२५ ले गुमाएको थियो । लगातार दुई सेट जित्नुपर्ने चुनौतीलाई आत्मासात गदै प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२ र १५–११ को अंकले स्तब्ध पार्दै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

दोस्रो खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई २५–२३, १०–२५, २५–१० र २५–१६ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का ग¥यो । तेस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई २५–४, २५–७ र २५–३ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । त्यसैगरी प्रदेश ५ ले कर्णाली प्रदेशलाई २५–११, २५–१५ र २५–१० को सोझो सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान बनायो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टिमले अहिलेसम्मकै सर्वाधिक पुरस्कार प्राप्त गर्नेछ । विजेता टिमले नगद रु. ३ लाख ५० हजार, दोस्रोले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथोले सान्त्वनास्वरूप ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधाहरूमा बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीले नगद रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।