दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको तयारी

दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनको तयारी


नेपाल र भारतका युवा उद्यमीको सहभागितामा आगामी शनिबार (माघ ५ गते) काठमाडौंको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ ।

भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भारतीय राजदूतावासका द्वितिय वाणिज्य सचिव कपिलध्वज प्रतापसिंहले सम्मेलनमा युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलनमा नेपाल र भारतका उद्यमी, लगानीकर्ता, व्यापारी, वकिल, लेखापरीक्षक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धीका जानकार सहभागी हुने बताइएको छ ।

बताइएअनुसार सम्मेलनका लागि सामाजिक सञ्चालमार्फत विभिन्न विषयमा योजनासहितको आवेदन सङ्कलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजनालाई छनोट गरिएको छ । त्यसलाई लगानीकर्ता र उद्यमीको अगाडि सम्मेलनका अवसरमा प्रस्तुत गरिने क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले जानकारी दिए ।

सम्मेलनको उदघाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीकोसमेत सहभागिता रहने, साथमा विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत प्रमुख वक्ताका रुपमा रहने बताइएको छ ।