किन प्रकट हुन्छ नयाँ-नयाँ प्रकरण ?

किन प्रकट हुन्छ नयाँ-नयाँ प्रकरण ?


हवाईजहाज खरिदमा भएको भ्रष्टाचार, गोविन्द केसीको सोह्रौँ अनशनजस्ता ‘प्रकरण’का बीच मन्त्रीले सचिव कुटेको घटनाको चर्चा यतिबेला व्याप्त छ । घटना–सन्दर्भ अनगिन्ती भए पनि पछिल्लो चर्चामा यिनै प्रकरण सतहमा छन् । यसअघि बालिकाको बलात्कार तथा हत्याको प्रसङ्गले मुलुक जुरुक्कै उठाएको थियो । त्योभन्दा अघि सुन तस्करीको मुद्दाले माहोल यसरी तताएको थियो कि अब देशमा हुने गरेका ठुल्ठूला तस्करीहरूको भण्डाफोर हुनेछ, भ्रष्ट, माफिया र तिनलाई संरक्षण दिने राजनीतिक आवरणमा रहेका पात्रहरूको सनसनीपूर्ण खुलासा हुनेछ भन्ने ठान्न थालियो ।

तर, त्यस्तो केही भएन र ती प्रसङ्ग जसरी उठे–उठाइएका थिए त्यसरी नै सेलाउन पुगेका छन् अहिले । कुनै नयाँ प्रकरण पैदा भएपछि पुरानो बिर्सने र जतिसुकै ठूला मामला भए पनि बिस्तारै बिर्सिएरै छोड्ने चरित्रको सिकार बनेको छ नेपाली समाज । यस चरित्रलाई मसिनोसँग बुझिसकेका ‘शासक’हरूचाहिँ नागरिक समाजलाई यस्तै–यस्तै प्रकरणहरूमा सिलसिलाबद्ध ढङ्गले अल्झाएर राज गर्न ‘माहिर’ देखिएका छन् ।

‘अग्रगमनकारी’ नेताहरूले ‘प्रजातान्त्रिक व्यवस्था’ भन्न लाज माने र ‘लोकतन्त्र’को रट लगाए । कार्यकर्तालाई रटाएपछि त्यो शब्द आमजनतामा सऱ्यो, सारियो । त्यतिले नपुगेर संविधानतः ‘लोकतान्त्रिक गणतन्त्र’ कुँदेर यतिबेला ‘गणतन्त्र नेपाल’को अभ्यास गराइँदै छ । शब्द सुन्दर छ– लोकतान्त्रिक गणतन्त्र ! तर, व्यवस्थाको नाम जतिसुकै सुन्दर भए पनि व्यवस्थापन पक्ष या व्यवस्थापकहरू इमानदार, सक्षम र देशभक्त भएनन् भने देश र जनताको दुर्गति हुने रहेछ । यतिबेला नेपाल र नेपाली यही फजिती व्यहोरिरहेका छन् ।

व्यवस्थापक जतिसुकै अक्षम, असहिष्णु, भ्रष्ट, रुग्ण, सठिया भए पनि गणतन्त्रको नाममा स्वीकार गरिरहनुपर्ने, पात्र र प्रवृत्तिको विरोध गर्दा त्यो व्यवस्थाकै विरोध गरेको ठहरिने नियतिबाट नेपाली गुज्रिरहेका छन् । तर, शासकहरू यो स्वीकार गर्दैनन् । जताततै रामराज्य फस्टाइरहेको देख्छन् तिनका आँखा । जनस्तर वा सचेत तहबाट हुने गरेका भ्रष्टाचार, अत्याचार, दूराचारको विरोध त तिनका निम्ति ‘गणतन्त्रको विरोध’ बनिदिन्छ, मुट्ठीभर शासक र तिनका चाटुकार पिछलग्गुहरूको गाथ–गादी नै ताकेको अभियोग लगाएर ज्युँदै मर्न विवश पारिन्छ सत्य र न्यायको पक्षमा उभिनेलाई । तीतो या मीठो जे भए पनि सत्यचाहिँ यही नै हो ।

जनता जाग्दाको चरित्र बेग्लै हुन्छ, जुन जागरणमा देश शिरमा हुन्छ र हृदयमा समग्र देशवासीको हित–कल्याणको अभीष्ट टाँसिएको हुन्छ । यस्तो जागरणले देशलाई निराशाको अँध्यारोतर्फ नभई उज्यालो भविष्यतिर डोऱ्याउँछ– प्रस्टै महसुस हुनेगरी । जागरणको यो मर्म पक्रिएर आमनेपाली एकपल्ट जुरुक्कै हुनुपर्ने परिवेश निर्माण भएको छ ।

राजनीतिक नेतृत्वको आदेश कर्मचारीतन्त्रले अवज्ञा गर्ने, कर्मचारीलाई सत्ता या पदमा भएका राजनीतिकर्मीले आफ्नो सेवक या नोकरसरह कजाउन खोज्ने, आफ्ना भ्रष्टकर्मको मतियार तुल्याउन बाध्य पार्ने, अटेर गरे कुटपिटमै उत्रिने, नाजायज ढङ्गले अपायक सरुवा–घटुवामा पारेर सास्ती दिन पछि नहट्ने, अनि राष्ट्रसेवक भनिने कर्मचारीहरू पनि जिम्मेवारीअनुरूप सर्वसाधारणलाई सेवा प्रदान गर्नुको साटो स–साना काममा पनि झुलाउने, भुलाउने र हैरान तुल्याएर घुस असुल्ने दुष्प्रवृत्तिको सिकार बनेका छन् ।

यति मात्र होइन, आमनागरिक पनि आफ्नो कर्तव्य तथा देशप्रतिको दायित्व मनन नगरी हौवाको वशमा परेका छन् । सत्य–तथ्य पर्गेल्नेभन्दा भिडको पछि लाग्ने चरित्र बनेको छ सर्वसाधारण नेपालीको । ठीक लाग्दा शिर चढाएर आकाशमै पुऱ्याउने अनि थोरै गल्ती भेटिए विरोधमा उछित्तो काडेर रसातलमै धस्न खोज्ने आमप्रवृत्तिले जुनसुकै क्षेत्रका इमानदार व्यक्तिलाई कर्मक्षेत्रमा डटेर लाग्न बाधा पारेको महसुस गरिन्छ । यसरी देशमा आज गणतन्त्रकै आवरणमा भिडतन्त्र, अराजकता, कुशासन, भ्रष्टाचार मौलाउन पुगेको छ । पतनको यस पराकाष्ठासँगै सिङ्गै मुलुकको अस्तित्वको प्रश्न यतिबेला पहाड बनेर ठडिएको छ ।

परिस्थिति यसरी जटिलतम बनिसक्दा पनि न दलहरू संवेदनशील देखिएका छन् न त जनतामै जागरुकता देखिएको छ । कुनै घटनाविशेषमा औँला ठड्याएर कोकोहोलो गर्नुलाई नै जागरुकता ठान्न मिल्दैन । यदि यो नै जागरण हुन्थ्यो भने त यसले अवश्य पनि सकारात्मक परिणाम पनि निम्त्याउँथ्यो, निम्त्याउनुपर्थ्यो । राजनीतिक नेतृत्वलाई दिन–प्रतिदिन भ्रष्ट र निरङ्कुश तुल्याउँदै लैजाने अनि आमजनताचाहिँ अधोगतिमै पिल्सने स्थितिलाई जागरणको अवस्था मान्न सकिँदैन ।

जनता जाग्दाको चरित्र बेग्लै हुन्छ, जुन जागरणमा देश शिरमा हुन्छ र हृदयमा समग्र देशवासीको हित–कल्याणको अभीष्ट टाँसिएको हुन्छ । यस्तो जागरणले देशलाई निराशाको अँध्यारोतर्फ नभई उज्यालो भविष्यतिर डोऱ्याउँछ– प्रस्टै महसुस हुनेगरी । जागरणको यो मर्म पक्रिएर आमनेपाली एकपल्ट जुरुक्कै हुनुपर्ने परिवेश निर्माण भएको छ । अझै चेत नखुल्ने हो भने अनेक रूप र आकारका प्रकरण पैदा गराएर देशलाई नै गुमराहमा पार्दै गणतन्त्रको नाममा ‘गण’माथि नै अनाचारको सिलसिला अनवरत जारी रहनेछ, जबसम्म अस्तित्व नामेट हुँदैन ।