गाउँमा उत्पादित अर्गानिक चिया शहरमा बिक्री

गाउँमा उत्पादित अर्गानिक चिया शहरमा बिक्री


काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थालेका हुन् ।

गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौँसम्म विक्री हुँदै आएको छ । चियाको माग बढेकाले आफूले बेंसीसहरको झिङ्गे खोला नजिकै मासिक रू १५ हजारमा सटर भाडामा लिएर चियाको होलसेल विक्री केन्द्र थापना गरेको उनले जानकारी दिए । उक्त विक्री केन्द्र बुधबार उद््घाटनका क्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नयाँ व्यवयासलाई नगरपालिकाले स्वागत गर्ने र व्यवसाय प्रवद्र्धनमा जोड दिइने बताए । गाउँ फर्केर व्यवसायमा लागेका युवालाई स्थानीयतहबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

विसं २०६७ मा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका विरुवा लगाई व्यावसायिक चिया खेती सुरु गरेका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती गरेका छन् । शुरु शुरुमा हातैले चिया प्रशोधन गरेँ । अहिले रू १२ लाख लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेको यसबाट नियमित पाँच जनालले रोजगारी पाएको उनले बताए ।

सुरुमा इलामबाट चियाको विरुवा ल्याएका गुरुङले चियाको विरुवासमेत उत्पादन गरी विक्री वितरणसमेत गर्दै आएका छन् । बजारमा आफ्नो क्रिष्टा टी प्रालिको नामबाट ‘लमजुङ टी’ उपलब्ध हुन थालेको जानकारी दिँदै उनले महिनामा कम्तीमा एकसय किलो चिया उत्पादन हुँदै आएको र यसबाट कम्तीमा रू एक लाख आम्दानी हुन्छ भने ।

गाउँमा चिया खेती सुरु भएपछि यहाँको बजारमा अन्य कम्पनीको चिया खपत हुन रोकिएको र काठमाडौँका साथै अन्य जिल्लामा पनि उक्त चियाको माग बढेको स्थानीयबासीले बताएका छन् ।