गजेन्द्रनारायण अस्पतालमा तनावपछि सहमति

गजेन्द्रनारायण अस्पतालमा तनावपछि सहमति


राजविराज । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल सहमतिपश्चात् सामान्य अवस्थामा आएको छ ।

छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको बुधवार दिउँसो मृत्यु भएपछि राजविराजस्थित अञ्चल अस्पतालको माहोल तनावग्रस्त बनेकोमा तीनबुँदे सहमतिपश्चात् सामान्य बनेको हो ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिहान भर्ना भएका सदाको मृत्यु चिकित्सकको लापर्वाहीले भएको भन्दै बिरामीका पारिवारिक सदस्य, गाउँलेहरु र विद्यार्थी, युवाहरुले प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त बन्दा अस्पतालको स्वास्थ्य सेवासमेत प्रभावित भएको थियो ।

प्रदर्शनको नेतृत्व नेविसंघका नेता एवं राजविराज नगरपालिका ५ नम्बर वडा सदस्य पार्थो सरकार, तरुण दलका सिताप्रसाद यादव र फिदा हुसेनले गरेका थिए । उनिहरुले स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग राख्दै जुलुससमेत निकालेका थिए । राजविराज नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन समेत गएका प्रदर्शनकारीहरुले पुनः अस्पतालमा पुगी प्रदर्शन जारी राखेका थिए ।

हातखुट्टा दुःखेर अस्पताल भर्ना भएका सदालाई सुई लगाएर स्लाइन चढाएपछि अकस्मात मृत्यु भएको बुहारी सरीतादेवी सदाको आरोप छ । प्रहरी र प्रदर्शनकारीहरुबीच ठेलमठेल भएपछि मच्चिएको हुलदंगापछि अस्पतालको आकस्मिक विभागका केही कर्मचारीहरु सेवा बन्द गरी बाहिरिएका थिए ।

डा. रन्जित झाले उपचार गर्दागर्दै भएको मृत्युप्रति दुःख व्यक्त गर्दै चिकित्सकले लाउनुपर्ने इन्जेक्सन लगाएकै कारण मृत्यु भएको भ्रम फैलाएर आन्दोलन चर्काइ चिकित्सकहरुले बिरामी नै हेर्न नपाउने अवस्था सृजना गर्न खोजिएको दुःखेसो पोखेका छन् ।

बिरामीलाई तत्काल दिनुपर्ने देखिएको केटोरोलाक र सेफटूाजेल नामक औषधीसहितको स्लाइनपानी र सुई डा. मिश्रद्वारा दिइएको हो, यसमा कुनै लापरवाही भएको छैन, उनले भने । सो केशबारे आफूले डिटेल बुझिसकेको र त्यसमा चिकित्सको कतै कुनै लापर्वाही फेला नपरेको उनको दाबी छ ।

यता पीडित परिवार, स्थानिय प्रशासन, विद्यार्थी प्रतिनिधि र अस्पतालका प्रतिनिधिबीच ५ घण्टा सम्म चलेको छलफल सहमतिमा पुगेपछि साँझ मृतक सदाको शव आफन्तले बुझेका छन् ।

सहमति अनुसार घटनाको सत्यतथ्य छानविन गर्न मेसु झाको संयोजकत्वमा ३ सदस्य छानविन समिति गठन गर्ने, मृतक सदाको शव पोष्टमार्टमका लागी धरान पुर्याउने लगायतका निर्णय गरिएको छलफलमा सहभागी वडा अध्यक्ष समिर झाले जानकारी दिएका छन् ।

यसअघि गत असोज ६ गते सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजार निवासी अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको उपचार नगरी मृत घोषणा गरेको भन्दै अस्पतालमा भएको तोडफोडको सम्बन्धमा गठित छानबिन समितिले मृत भइसकेपछि ल्याइएका बालकलाई जिउँदै भनी भ्रम सृजना गरी तोडफोड गर्ने दोषीहरुलाई कारवाही गर्न सिफारिश गरेको थियो । प्रहरी प्रतिवेदनका आधारमा राजविराज नगरपालिका ४ का ओमप्रकाश सेठलाई आवश्यक वस्तु तोडफोडको आरोपमा पक्राउ गरी कारवाही गरिएको थियो ।