सेनाद्वारा निर्मित सामुदायिक भवन दलित बस्तीलाई हस्तान्तरण

सेनाद्वारा निर्मित सामुदायिक भवन दलित बस्तीलाई हस्तान्तरण


  • हेमशंकर सिंह, राजविराज

सप्तरी सदरमुकाम राजविराजस्थित नेपाली सेनाको भीमदल गणले जिल्लाकोे प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता गाउँपालिका वडा नं. ३ मा रहेको मुसहर बस्तीमा सुरक्षित सामुदायिक भवन निर्माण गरी सामुदायलाई हस्तान्तरण गरेको छ ।

सेनाले आफनै लगानी र श्रमदानबाट निर्माण गरेको सुरक्षित र लकरसहितको सुविधासम्पन्न भवन बुधबार एक कार्यक्रमबीच स्थानीय समुदायलाई हस्तान्तरण गरेको हो ।

गरिबीको चरम अवस्थामा रहेका मुसहर समुदायको कष्टकर अवस्था हेरेर गत १५ पुसदेखि गणका प्राविधिकसहितको सेनाको टोली त्यहाँ पुगेर निर्माण कार्य सुरु गरेको थियो ।

निर्माण कार्य सम्पन्न भएपछि एक समारोह बीच उनीहरुलाई भवन हस्तान्तरण गरिएको हो । स्थानीयको आग्रहमा गणबाट सेनानी अमरबहादुर थापाको नेतृत्वको १५ जनाको सैन्य टोली श्रमदान गर्न मुसहरबस्ती पुगेको थियो ।

सेनाले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत ३ लाख ५० हजारको लागनीमा उक्त भवन निर्माण गरेको गणका प्रमुख सेनानी गुप्तबहादुर कुवँरले बताए । विपदका बेला जोखिमबाट जोगिन तथा उनीहरुको बहुमुल्य सरसामान सुरक्षित ढंगले राख्न सकियोस् भन्ने उद्देश्यले सुरक्षित समुदायिक भवन निर्माण गरिएको उनको भनाई छ ।

यता मुसहरहरु सुरक्षित साथ आफना आवश्यक कागजात तथा बहुमुल्य सरसामान राख्न नयाँ भवन पाएपछि खुशी भएका छन् । स्थानीय वृद्ध इश्वर सदाले भने, आगलागी र बाढीका बेला आपत नै पर्थ्यो, अब वर्षा र आगलागीको चिन्ता पनि रहेन ।

सेनाले बुधबारै भुकम्प सुरक्षा दिवसको अवसर पारेर स्थानीय जोगेन्द्र भगत ठाकोदेवी राजदेवी माविका विद्यार्थीका लागि सचेतनामुलक कार्यक्रमसँगै भुकम्प आएको बेला कसरी जोगिने र अरुलाई कसरी जोगाउने समेतका बारेमा प्रदर्शन गरी देखाएका थिए ।