काठमाडौं–कोलकाता उडान गर्ने वुद्ध एयरको तयारी

काठमाडौं–कोलकाता उडान गर्ने वुद्ध एयरको तयारी


बुद्ध एयरले काठमाडौंदेखि कोलकोत्ता सिधा उडान गर्ने तयारी थालेको छ । कम्पनीले बैशाख २ गतेदेखि परिक्षण उडान सुरु गर्न लागेको हो ।

कम्पनीको एटीआर–७२मार्फत साताको तीन उडान गर्नेछ । कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौं–कोलकाताका नेपालबाट उडान अनुमति पाइसकेको र भारततर्फ अन्तिम चरणमा रहेको जानकारी दिए । ‘कोलकोत्ता उडानका लागि सबै तयारी सकिसकेका छौं, यसका लागि सबै पक्षको सहयोग जरुरी छ ।’ निर्देशक बस्नेतले भने, ‘हामी जोखिम मोलेरै भएपनि काठमाडौं–कोलकाता उडानको तयारी थालेका होैं ।’

उनका अनुसार कम्पनीले कोलकोत्ता हप्तामा ३ उडान भर्नेछ । ३ उडानमा १८० जना यात्रुको टार्गेट राखेको छ । यसमध्ये १०० जना यात्रु ल्याउन सके कम्पनी सफल हुने निर्देशक बस्नेतको भनाई छ । कोलकता उडानका लागि कम्पनीले विहानको समय मागेको छ । भाडादर भने केहीपछि मात्रै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । यो रुटको उडान समय १ घण्टा ४० मिनेट हुन्छ । अहिले एयर इन्डियाको काठमाडौं–कोलकाताको दुईतर्फी भाडा २८ हजार रुपैयाँ छ ।

खर्च र घाटा न्यून गर्ने उद्धेश्यले परीक्षण उडानका लागि एटिआर प्रयोगमा ल्याउन लागेको जानकारी दिँदै परीक्षण उडान सफल भएमा ठूलो विमान ल्याएर उडान थाल्ने उनले बताए । न्यारो बडी (ठूलो) विमान खरिदका लागि हाल एयबस र बोइङ कम्पनीसँग छलफल गरिसकेको बस्नेतको भनाई छ ।

नयाँ वर्ष २०७६ को बैशाख २ गतेदेखि साताको ३ उडान सोमबार, बुधबार र शुक्रबार काठमाण्डौँ–कोलकत्ता–काठमाडौँ उडान गर्ने बुद्ध होलिडेजका प्रमुख आस्था बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिइन् । काठमाडौं–कोलकाता उडानका लागि बुद्ध एयरको भगिनी कम्पनी बुद्ध होलिडेजले केही सातामै अनलाइनमार्फत उडानसहितको विभिन्न तीर्थस्थल र पर्यटकीय गन्तब्य प्याकेज सार्वजनिक गर्ने जनाएको छ ।