विश्वकै ठूलो ज्यानधारी ‘रोली विङ्कलार’ नेपाल आउँदै

विश्वकै ठूलो ज्यानधारी ‘रोली विङ्कलार’ नेपाल आउँदै


आईएफबीबी लिग नेपालअन्तर्गत पहिलोपटक नेपालमा ‘प्रो क्वालिफायर’को आयोजना हुँदै छ । नेपालमा आयोजना हुने यो प्रतियोगितालाई ‘आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफाइर) नाम दिइएको छ । प्रतियोगिता आगामी फागुन ३ देखि ४ गतेसम्म काठमाडौंको एकेडेमी हलमा आयोजना हुने नेपाल च्याप्टरका संयोजक सानु गुरुङले माघ २ गते आयोजित प्रेस सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगितामा विश्वभरिका १ सयभन्दा बढी बिल्डर सहभागिता जनाउन नेपाल आउँदै छन् । उनीहरूले चारवटा क्याटागोरीमा ‘प्रो कार्ड’ जित्न आफ्नो भीमकाय शरीरको प्रदर्शन गर्नेछन् । नेपालमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक’, ‘मेन्स बडिबिल्डिङ र महिलातर्फ ‘ओमन फिजिक’मा ‘प्रो कार्डमा भिडन्त हुनेछ ।

नेपालकै खेल इतिहासमा सबैभन्दा भव्य प्रतियोगिताको संज्ञा पाएको यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न अमेरिका, बेलायत, जापान, इटाली, फ्रान्स, चीन, रुस, भारत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेशलगायतका २० भन्दा बढी राष्ट्रका खेलाडी नेपाल आउने भएका छन् । यो प्रतियोगितामा नेपाली खेलाडीको पनि सहभागिता हुनेछ । नेपाल आउने बडिबिल्डरहरू आफ्नो राष्ट्रका स्टार खेलाडी र सेलिब्रेटी हुन् ।

यो प्रतियोगितामा ‘गेस्ट पोजर’का लागि नेदरल्यान्डका रोली विङ्कलार नेपाल आउँदै छन् । रोली फेब्रुअरी १४ मा नेपाल आएर १७ तारिखमा फर्किने आयोजकले बताए । विङ्कलार यस वर्षको ‘आर्नोल्ड क्लासिक’ विजेता हुन् । उनी आर्नोल्ड र स्वेज्नेगरका सबैभन्दा ठूला फ्यान हुन् । हाल अमेरिकामा बसोवास गर्ने विङ्कलार ‘द बिष्ट’ र ‘सामुराई’का उपनामले परिचित छन् । उनी विश्वकै सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन् । उनको हातको पाखरा २४ इन्च र थाई ४८ इन्चको छ । उनको शारीरिक तौल १ सय ३० केजी छ । उनी यु ट्युबमा धेरैले खोजी गर्ने सेलेब्रिटी पनि हुन् ।