प्रिन्स दाहाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधि

प्रिन्स दाहाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधि


काठमाडांैका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टस् ग्राम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि हात पारेका छन् । उनले सेनाका प्रफुल महर्जनलाई २१–१३, २१– १३ को समान अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् ।

दाहालको दुई हप्ताभित्र यो दोस्रो अन्तर्राष्ट्रिय उपाधि हो । उनले हालै विराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पनि यू–१९ र यू–१५ दुवैतर्फ विजय हात पारेका थिए ।

सेमिफाइनलमा पुरुष एकलतर्फ प्रिन्सले रुकेश महर्जनलाई र प्रफुलले एपीएफका सुनिल जोशीलाई पराजित गरेका थिए । दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगलतर्फ सेनाका रत्नजित तामाङ र अनुमाया राईको जोडी विजयी भयो । रत्न र अनुको जोडीले फाइनलमा एपीएफका दिपेश धामी र पूजा श्रेष्ठको जोडीलाई २१–१९, २० –२२ र २१– १६ ले पराजित गर्दै उपाधि जितेको हो । दिपेश र पूजाको जोडीले एपीएफकै गौतम कठायत र सुनैना मुखियालाई पराजित गरेका थिए ।

भेट्रान्स युगलतर्फ पुष्पलाल स्मृति ब्याडमिन्टनका विजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र केबी गुरुङको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै उपाधि हात पारेको छ ।

पुरुष युगलतर्फको खेलमा एपीएपका दिपेश धामी र विजित थापामगरको जोडी र सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी फाइनल प्रवेश गरे । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१७, २३–२१ को अन्तरले तथा तामाङ र श्रेष्ठले गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१–९, २१– १२ ले पाखा लगाएको थियो ।

स्थानीयस्तरका खेलाडीहरूको बीच भएको खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टस् ग्रामका अध्यक्ष भालेश्वर दुलाल र प्रकाश राईको जोडीले जित हात पारेको छ । फाइनल खेलमा दुलाल र राईको जोडीले रविचन्द्र राई र सुभाष श्रेष्ठको जोडीलाई १२–२१, २१–११ र २१–१८ ले पराजित गर्दै उपाधि जितेको हो ।