कामदार कोटा बढाउन इजरायल सकारात्मक

कामदार कोटा बढाउन इजरायल सकारात्मक


ठूलो संख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहिनेती, इमानदार र अनुशासित भएका कारण नेपाली कामदारको संख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले मंगलबार गरेको भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार तयार रहेको बताए । सो अवसरमा मन्त्री विष्टले कृषि, पर्यटन तथा रोजगारीको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको र नेपाली कामदार विशेष गरी ‘केयर गिभर’को संख्या थप गर्न सकेमा दुवै देश लाभान्वित हुने बताए ।

श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने उनले बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भेटमा राजदूत अमेरले इजरायलबाट फर्की आएका युवाले इजरायली कृषि प्रविधिको प्रयोग गरी विभिन्न व्यवसाय सञ्चालन गरेका जानकारी पाउँदा आफू खुसी भएको बताए ।

घरेलु कामदारका रूपमा खाडी मुलुक पुगेका नेपालीले धेरै दुःख पाए पनि इजरायलमा केयर गिभरमा काम गर्ने नेपालीले शारीरिक तथा आर्थिक शोषणमा पर्नुपर्दैन । इजरायलले मुख्य गरी केयर गिभरमा नेपाल, फिलिपिन्स, श्रीलंका र भारतबाट महिला कामदार लैजाने गरेको छ ।