गरिबी, स्वास्थ्य र शिक्षा नै मधेसका मुख्य समस्या : सांसद रानी शर्मा

गरिबी, स्वास्थ्य र शिक्षा नै मधेसका मुख्य समस्या : सांसद रानी शर्मा


रानी शर्मा महोत्तरी क्षेत्र नं. ३ ‘ख’बाट निर्वाचित प्रदेश सभा सांसद हुनुहुन्छ । महिला अधिकारको आन्दोलन र सञ्चार क्षेत्रमा समेत संलग्न उहाँ रेडियो रुद्राक्ष तथा महिला सशक्तीकरण अभियानकी संस्थापक हुनुहुन्छ । सांसद रानीसँग घटना र विचारले गरेको कुराकानी :

० नागरिक समाजमा हुनुहुन्थ्यो, एक्कासि सांसद हुनुभयो नि ?
– एक्कासि भन्न मिल्दैन, म पहिल्यैदेखि राजनीतिमा थिएँ । राजनीति गर्दै गर्दा अन्य क्षेत्रमा पनि थिएँ । राजनीतिकै क्रममा मिडिया चाहिने रैछ जस्तो लाग्यो, मिडियामा लागेँ । समाजसेवाका लागि फोरम जरुरी थियो, संस्थामार्फत काम गरेँ ।

० भनेपछि राजनीति गर्नका लागि मिडिया चाहिँदोरहेछ ?
– राजनीति मात्र होइन हरेक क्षेत्रका लागि मिडिया महत्वपूर्ण हुन्छ । व्यापार, व्यवसाय, कृषि सबैतिर ।

० महिलालाई चुनाव लड्न गाह्रो हुन्छ भन्ने छ, तपाईं त निर्वाचन जितेरै सांसद हुनुभयो नि ?
– महिलालाई गाह्रो छ, यसका कारण धेरै छन् । राजनीति वर्षौंदेखि पुरुषले गर्दैै आएका छन् । राजनीति भन्नेबित्तिकै यो पुरुषको क्षेत्र हो भन्ने छ, तर वातावरण बनाउन सके महिलालाई पनि त्यति गाह्रोचाहिँ छैन, जति चर्चा गरिन्छ । मेरो सवालमा महिला–पुरुष सबैले सहयोग गर्नुभयो । म पैसावाल मान्छे होइन, तर यसले काम गर्न सक्छे, आफ्ना समस्यालाई संसद्सम्म पुऱ्याउँछे भन्ने विश्वासले भोट दिनुभयो । मधेसमा पनि अब महिला विभिन्न क्षेत्रमा संलग्न हुने माहोल बन्दै छ, जहाँ राजनीति पनि पर्छ ।

० अहिले सांसद भएपछि कस्तो अनुभव भइरहेको छ त ?
– सांसद भएपछिचाहिँ गाह्रो भइरहेको छ । जनताको जिम्मेवारीका कारणले यस्तो महसुस गराएको हो । जनताका समस्या सम्बोधन हुन नसक्दा झनै गाह्रो हुन्छ । सत्ता पक्षको सांसद भएका कारणले हामीमाथि थप चुनौती छन् । सकेको कोसिस गरिरहेको छु । जनताको जीवनस्तर परिवर्तन गर्नका लागि सम्पूर्ण कोसिस गर्नेछु ।

० मधेसमा बेटी बचाउ बेटी पढाउ अभियान चलिरहेको छ, भारतमा मोदी सरकारको नारा पनि यही छ, हाम्रो आफ्नै मौलिक नारा दिन सकिँदैनथ्यो र ?
– आँपको रूख कहाँ थियो, कस्तो थियो भन्दा पनि आँप खाने कुराले माने राख्छ । यो अभियानमा पनि नारा कस्तोभन्दा पनि लक्ष्य के हो भनेर बुझ्नुपर्ने हुन्छ । लक्ष्य राम्रो छ । यो अभियानले छोरीलाई हेर्ने दृष्टिकोण बदल्न मद्दत गरेको छ । मेरै जिल्लामा पनि गाउँगाउँमा छोरी पढाउने लहर आएको छ । छोरीलाई बिमा, साइकल, स्कुलमा छुट्टै ट्वाइलेट र सेनिटरी प्याडको व्यवस्था गर्ने कार्यक्रम पनि छ ।

० मधेसमा शिक्षाबारे अभियान चलेको छ, दाइजोका बारेचाहिँ कुरा उठेको सुनिँदैन नि ?
– दाइजोबारे पनि कुराहरू उठिरहेका छन् । महिला शिक्षित भएपछि, आत्मनिर्भर भएपछि दाइजो आफैँ हटेर जान्छ जस्तो लाग्छ । अहिले शिक्षित युवतीहरूले म दाइजो लिने केटासँग विवाह गर्दिनँ भन्न थालिसके । राम्रा पुरुषले, राम्रो परिवारले दाइजोको कुरा गर्दैन या दाइजोका कारण परिवार बिथोल्दैन भन्ने सोच बढ्दै गएको छ । मलाई लाग्छ यो समस्या अब लामो समय रहँदैन ।

० सबैले मधेसका समस्या भन्छन्, खासमा मधेसमा समस्याचाहिँ के छ ? अहिले मधेसको समस्या के हो ?
– सबैभन्दा ठूलो समस्या त गरिबी नै हो । स्वास्थ, शिक्षामा पनि हामी पछाडि छौँ । महिला सशक्तीकरण अर्को पाटो हो । कृषिमार्फत जसरी जीवनस्तरमा परिवर्तन गर्न सकिन्थ्यो त्यो हुन सकेको छैन । बाँझा खेतहरू बढ्दै गएका छन् । कृषिमा उथलपुथल नल्याई यो मुलुकको आर्थिक अवस्था राम्रो हुँदैन । गरिबी अन्त्य गर्नका लागि कृषि प्रणालीको विकास गर्नु जरुरी छ । कृषिमा कसरी आत्मनिर्भर हुने भन्ने कुरा हाम्रो लागि महत्वपूर्ण हो ।