एलाइभ सहकारीको दशौँ साधारणसभा सम्पन्न

एलाइभ सहकारीको दशौँ साधारणसभा सम्पन्न


काठमाडौं महानगरपालिका– २७ कमलाक्षी, असनमा केन्द्रीय कार्यालय रहेको एलाइभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सुन्धारास्थित धरहरा फुडल्यान्डमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि शंकर बस्नेत सञ्चालक रहेको सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिमा उपाध्यक्ष दलबहादुर श्रेष्ठ चयन भएका छन् भने अन्य पाँच सञ्चालकमा सुनील केसी, उमेश खड्का, दीनानाथ रेग्मी, ओमकृष्ण आचार्य र अप्सरा राउत निर्विरोध चयन भएका छन् ।

तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा सहकारीका सेयर सदस्य राजु केसी तथा सेयर सदस्यद्वय ज्योति जीसी र अनिता थापा खत्री सदस्यमा निर्विरोध चयन भएका छन् ।

साधारणसभामा सहकारीका अध्यक्ष अशोक रिजालले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन सुपरीवेक्षण समितिका सुनिल केसीले प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदन सभामा अनुमोदन भएका थिए ।

संस्थाले आर्थिक वर्ष २०७४–७५ सम्ममा २ करोड ४९ लाख ७५ हजार ८ सय रुपैयाँ सेयर पुँजी संकलन गरी ९ करोड ११ लाख ४६ हजार ७९१ रूपैयाँ निक्षेप संकलन गरेको थियो । सोही अवधिमा संस्थाले १२ करोड १८ लाख ५४ हजार ९६ रुपैयाँ कर्जा प्रवाह गरेको सो अवसरमा जानकारी गराइयो ।

संस्थाका अध्यक्ष अशोक रिजालको सभापतित्वको सम्पन्न साधारणसभामा करिब पाँच सय सेयर सदस्यहरूले सहभागिता जनाएका थिए । सो अवसरमा त्यस क्षेत्रका क्रियाशील अन्य सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरूले साधारणसभाको सफलताका लागि शुभकामना मन्तव्य दिएका थिए ।