करिब ६ अंकले घट्यो नेप्से

करिब ६ अंकले घट्यो नेप्से


धितोपत्र बजारमा साताको शुरु दिन आइतबार शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १ सय ७५ दशमलव शून्य पाँच बिन्दुमा झरेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले घटेर २ सय ४९ दशमलव ४२ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज कुल १ सय ५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु. ३७ करोड २९ लाख १५ हजार ७ सय ६ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका कुल दश उपसमूहमध्ये दुई उपसमूहको शेयर वृद्धि भएको छ । यस्तै, आठ उपसमूहको शेयर कारोबार भने घटेको छ ।

स्टकका अनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य दुई दशमलव ८७ बिन्दुले बढेका छन् । यस्तै, बैंकिङ क्षेत्र ६ दशमलव ३२, होटेल १२ दशमलव ८७, विकास बैंक चार दशमलव पाँच, जलविद्युत पाँच दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बिमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव सात र जीवन बिमा ११ दशमलव १८ बिन्दुले घटेका छन् ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड, तिनाउ विकास बैंकका शेयरधनीका कारोबार भने आज बढेको छ ।

यस्तै, भार्गभ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयरधनीको कारोबार आज घटेको छ ।