विद्युत उत्पादनमा ६० प्रतिशतले गिरावट

विद्युत उत्पादनमा ६० प्रतिशतले गिरावट


–छविलाल बगाले
सुख्खायामका कारण नदीको जलप्रवाहमा कमी आएको छ । जसको सोझो असर जलविद्युत आयोजनाहरुमा परेको छ । पूरा क्षमतामा विद्युत उत्पादन गर्दै आएका आयोजनाहरुले पानी अभावकै कारण ६० प्रतिशत कम विद्युत उत्पादन गर्दै आएका छन् । जसका कारण बिद्युत आयातको मात्रामा बृद्धि भएको छ ।

अत्याधिक चिसो र सुख्खा मौसमका कारण प्रमुख नदीको जलप्रवाहमा कमी आएपछि विद्युत उत्पादनमा ६० प्रतिशतले गिरावट आएको हो । जलप्रवाह घटेपछि कालिगण्डकी ए, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी–ए, खिम्ती, त्रिशुली, चमेलिया, चिलिमे लगायतका आयोजनाबाट विद्युत उत्पादन पनि ह्वात्तै घटेको छ । उत्पादन घटे पनि विद्युत प्राधिकरणले लोडसेडिङ नहुने बताइसकेको छ । पानीको प्रवाह घटेपछि देशकै ठुलो १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत उत्पादन ६० प्रतिशतले घटेको नेपाल विद्युत प्राधिकरण अन्तर्गतको प्रणाली संचालन विभागका प्रमुख सुरेश बहादुर भट्टराईले जानकारी दिए ।

प्रायः सबै आयोजना नदीको वहावमा आधारित रहेकाले नदीमा जलस्तर घट्नासाथ यसको असर विद्युत उत्पादनमा पर्ने गरेको छ । हिमालमा हिँऊ नपग्लनु र समयमा बर्षात नभएका कारण हिमनदीहरुमा पानीको मात्रा घट्दै गएको प्राधिकणका प्रवक्ता प्रवल अधिकारीले बताए । विद्युत उत्पादनमा कमी आएपछि माग र आपूर्ति मिलाउन नेपाल विद्युत प्राधिकरणले भारतको विभिन्न नाका हुँदै ५ सय ६४ मेगावाट विद्युत आयात गर्दै आएको छ । भारतबाट अझै विद्युत आयात बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।

नेपालमा कुन क्षेत्रबाट कति विद्युत आयात ?
कटैयास्थित २ वटा १३२ केभी प्रसारण लाइनबाट–१ सय ८० मेगावाट
रक्सौलस्थित १३२ केभी प्रसारण लाइनबाट–८५ मेगावाट
टनकपुरस्थित १३२ केभी लाइनबाट– ४२ मेगावाट
रामनगरस्थित १३२ केभी लाइनबाट– ३० मेगावाट
ढल्केबर–मुजफरपुर प्रसारण लाइनबाट–२ सय ८० मेगावाट
आरटिसी मोडबाट चौविसै घण्टा–२ सय ४० मेगावाट

प्राधिकरणले हिउँदको समयमा माग र आपूर्तिलाई सहज बनाउन साँझको बेला कुलेखानीलाई सञ्चालनमा ल्याउने गरेको छ । ‘पिक’ समयमा प्राधिकरणले कुलेखानी जलाशयबाट ९२ मेगावाटसम्म उत्पादन गर्दछ । अहिले कुलेखानीमा पानीको सतह १ हजार ५२५ मिटर छ । अहिले प्राधिकरणसँग आयात गरिएको बाहेक ७ सय ५५ मेगावाट विद्युत प्रणालीमा छ ।