एम्बुलेन्सको लागि बेल्जियममा च्यारिटी कार्यक्रम हुँदै

एम्बुलेन्सको लागि बेल्जियममा च्यारिटी कार्यक्रम हुँदै


  • डिल्लीराम अम्माई, बेल्जियम

गोर्खा जिल्ल्लाको दुर्गम भेगका उत्पीडित महिलाहरुको प्रसवकालमा उद्वारका लागि एम्बुलेन्स खरिद गर्ने उद्देश्यले गोर्खा समाज बेल्जियमले बेल्जियममा यही जनवरी १४ का दिन एक च्यारिटी कार्यक्रम गर्दैछ। वेल्जियमको एन्टवेर्पन शहरमा हुन लागेको सो च्यारिटी सांस्कृतिक कार्यक्रमवाटअभियानको उदघाटन गरिने छ । कार्यक्रममा गोर्खाली अभियन्ताहरु फ्रान्सबाट हरिहर अर्याल, जर्मनबाट कुमार पन्त, रामप्रताप थापा लगायतको समेत विशेष उपस्थितिको आशा गरिएको छ ।

नेपालको पछिल्लो रेकर्डअनुसार हरेक एक लाख बच्चा जन्मिदा करिव २५० आमाले मृत्युवरण गर्छन् । गर्भवती महिलामध्ये १५ प्रतिशतले एकपटक पनि स्वास्थ्य परिक्षण नगरी बच्चा जन्माउँछन् । चरम आर्थिक अभाव, विकटता, कतिपय ठाउँमा कच्ची बाटो भए पनि एम्बुलेन्सको सुविधा नहुनु, सुत्केरी व्यथाले छटपटाएकी महिलालाई घन्टौँसम्म असजिलो गरी बोकेर लैजानुपर्ने र समयमा स्वास्थ्यचौकी पुर्याउन नसक्ने जस्ता कारणहरुले आमाहरुको मृत्यु हुने गर्दछ ।

त्यस्तै गरेर विविधखाले दुर्घटनामा परेर घाइते भएकाहरुलाई समयमै स्वास्थ्यचौकी पुर्याउँन नसक्दा पनि धेरैले अकालमा जीवन गुमाउनु परेको छ । यसरी मृत्युको मुखमा पुगेर छटपटाइरहेका दिदीवहिनी तथा दाजुभाइलाई सानो भएपनि सहयोग पुर्याउने उद्देश्यका साथ गोरखा समाज वेल्जियमले गोरखाको उत्तरी भेगमा एम्वुलेन्स सन्चालन गर्ने निर्णयपश्चात अभियानको शुरुवात भएको हो ।

उक्त परोपकारी कार्यको लागि समाजले आर्थिक संकलन अभियान शुरु गरेको जनाएको छ । संसारभरि रहेका गोर्खालीहरुलाई यो पुण्य अभियानमा सरिक भएर हरतरहले सहयोग पुर्याउन गोर्खा सामाज बेल्जियमले सार्वजनिक अपिल समेत गरिसकेको छ।

आयोजकका अनुशार उक्त सांस्कृतिक कार्यक्रमको लागि करिव ५०० टिकट वितरण भइसकेको छ भने वेल्जियमस्थित विभिन्न नेपाली संघसंस्था तथा व्यक्तित्वहरुवाट विशेष सहयोगको प्रतिबद्धता आइरहेको छ । आयोजकले परोपकारी कामको लागि भएकाले सांस्कृतिक कार्यक्रममा उपस्थित हुन नसके पनि सहयोगस्वरुप कम्तिमा एक टिकट लिइदिन बेल्जियमवासी नेपाली तथा मनकारी व्यक्तिमा अनुरोध गरेको छ ।

यस कार्यक्रमको लागि वेल्जियमस्थित नेपाली दुतावास, वेल्जियमस्थित नेपाली संघसस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत सबैलाई पत्राचार गरिएको बताइएको छ ।