मानव सेवा आश्रमको भवन बनाईदिने मेयर शाक्यको घोषणा

3 Shares

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।
आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,‘आश्रमले जग्गा खोजोस । महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ । आश्रमलाई सबैले सहयोग गर्नुपर्छ । अहिले नेपाल प्रहरीपनि आश्रमलाई सहयोग गर्न हामीसँगै आवद्ध भएको छ । यो खुशीको कुरा हो । अन्य सहयोगी संघ, संस्था र मानव हृदयहरुपनि यसमा आवद्ध हुनुपर्छ ।’

आश्रमका प्रमुख संरक्षक एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले आश्रमको स्थलगत् अवलोकनपश्चात् आफू निकै प्रभावित भएको प्रतिक्रिया दिए ।

उनले भने,‘मैले त आश्रम नै अवलोकन गरेको छु । त्यहाँ पुगिसकेपछिको दृश्य देख्दा म धेरै प्रभावित भएँ । आश्रमका साना–साना भाईबहिनीहरुले त्यहाँ भएका विरामीहरु स्याहारेको देख्दा त म झनै प्रभावित भएँ । त्यति हाम्रो घर परिवारका सदस्यहरुले पनि आफ्नै मान्छे विरामी हुँदा स्याहारसुसार गर्दैनन् होला ।’

राज्यले गर्नुपर्ने दायित्व आश्रमले गरिरहेको आफूले पाएको पनि उनले सुनाए । उनले भने,‘बास्तवमा ती भाईबहिनीहरुको सेवा लोभलाग्दो थियो । उहाँहरुले पैसाको लागि काम गरेको होईन, मानवसेवाको लागि गर्नुभएको हो । काम गर्दा उहाँहरुलाई मिठो निन्द्रा लाग्ला, अरु मैले व्यक्तिगत स्वार्थ देखिँन् ।’

आफूले स्थलगत् अवलोकन गरेपछि आश्रमलाई कुनै न कुनै प्रकारले सहयोग गर्नुपर्छ भन्ने लागेर नै अहिले काठमाडौंको सामाखुशी र बुढानिलकण्ठमा सञ्चालनरत दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको पनि शाक्यले जानकारी दिए । मानव आश्रमको कामलाई प्रोत्साहन गर्नको लागि महानगरपालिकाले भरपुर सहयोग गर्ने पनि उनले वचनबद्धता जनाए ।
कार्यक्रममा आश्रमका अभिभावक एवम् बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले सडकमा भएका मनोरोगीहरुले समयमै उपचार र प्रेम पाउने हो भने उनीहरुको अवस्थामा व्यापक सुधार आउने विश्वास दिलाए । उनले हरेक मान्छेमा सहयोगी र सहृदयको भावना विकास गर्नुपर्नेमा पनि जोड दिए ।

डा. उपाध्यायले उपचार र प्रेमसँगै आश्रममा रहेकाहरुलाई सिप तथा तालिम सिकाएर आत्मनिर्भर बनाउन सकिए उनीहरुको उपचारमासमेत टेवा पुग्ने विश्वास दिलाए । आश्रमका प्रमुख संरक्षक डा. टण्डनले संस्था स्थापना भएको ६ वर्षमा देशका विभिन्न जिल्लामा १४ वटा मानव आश्रमहरु सञ्चालन गरिरहेको जनाए । उनले भने,‘सबै आश्रमहरु हामीले भाडामा चलाएका छौं । अब मकवानपुरको हेटौडामा हाम्रो छिट्टै स्थायी आश्रम बन्दैछ । त्यस्तै चितवन र पोखरामा पनि हाम्रो स्थायी भवन बन्दैछ ।’

काठमाडौं उपत्यकामा आश्रमको आफ्नै स्थायी भवन बनाउन मेयर शाक्यले महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे । टण्डनले भने,‘मेयरज्यूप्रति हामी कृतज्ञ छौं ।’ त्यस्तै उनले आफूहरुलाई राज्यले पनि सहयोग गर्न जरुरी रहेको सुनाए ।

उनले भने,‘नगरपालिका र स्थानीय निकायहरुले हामीलाई विशेष सहयोग गर्नुपर्छ । अझैपनि एकल महिला र ज्येष्ठ नागकिहरुले आवश्यक प्रमाणपत्र र नागरिकता पाउनुभएको छैन् । यसको लागि राज्यले हामीलाई सहयोग गर्नुपर्छ ।’

3 Shares

प्रतिक्रिया