सहकारीको नेतृत्वमा महिला मात्र

सहकारीको नेतृत्वमा महिला मात्र


भक्तपुरको सूर्यविनायक–३ मा रहेको देवडोल कृषि सहकारी संस्था लिमिटेडको शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्रमाया कार्कीको अध्यक्षता र यसै नगरपालिका–३ का वडा प्रतिनिधि घनश्याम भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले अम्बिका ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय महिला मात्रै रहेको कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको छ । समितिमा भगवती श्रेष्ठ उपाध्यक्ष, झुना नेपाल सचिव, रुक्मिणी काफ्ले कोषाध्यक्ष चयन भएका छन् । यसैगरी प्रजिता कोइराला, रीता आचार्य, ज्ञानु नेपाल, मञ्जु पोखरेल, लक्ष्मी भट्टराई, मेनुका धिताल र सम्झना दाहाल सदस्यमा चयन भएका छन् ।

सभामा प्रमुख अतिथि भट्टराईले महिलाको मात्र नेतृत्वमा सहकारी गठन हुनु भनेको सकारात्मक र उदाहरणीय कार्य भएको बताउँदै सहकारीको श्रीवृद्धिमा जनप्रतिनिधिको रूपमा आफ्नो साथ सदैव रहने प्रतिबद्धतासहित संस्थाको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

सभामा ४८ जना सेयर सदस्य रहेको यस सहकारीले ३० लाख २७ हजार ६३९ रुपैयाँ सेयर पुँजी जम्मा गरी ३६ लाख २२ हजार ४९ रुपैयाँ ऋण प्रवाह गरेका जानकारी गराइयो । सभाले अघिल्लो वर्षको आर्थिक प्रतिवेदन पास गर्दै कारोबारबाट १५.९ प्रतिशत मुनाफा वितरण गरेको छ ।

यसैगरी सभाले यादवप्रसाद पोखरेलको संयोजकत्वमा लेखा समिति र नवीनकुमार भट्टराईको संयोजकत्वमा कर्जा समिति गठन गरेको छ ।