सुरज आर्केड व्यापार संघमा आर्थिक हिनामिना भएको आरोप

सुरज आर्केड व्यापार संघमा आर्थिक हिनामिना भएको आरोप


सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले उक्त व्यापार संघमा हेमबहादुर स्वाँर अध्यक्ष भएपश्चात् २०६६/०६७ देखि नै आर्थिक हिनामिना सुरु हुन थालेको स्पष्ट पारे ।

उक्त संस्थामा बास्तविक सदस्यहरु को–को हुन भन्ने अभिलेखसमेत नभएको, हिसाब किताबको अभिलेख नभएको, संस्थाको विधानअनुसार भारतीय नागरिक सदस्य हुन नपाउने उल्लेख हुँदाहुँदै सञ्चालक समितिमा विभिन्न मुख्य पदमा भारतीय नागरिकहरु रही समिति चलाईरहेको अवस्था रहेको पनि उनले सुनाए ।

उक्त संस्थाको संस्थापक भएको नाताले आफूले क्षमता र अनुभवको आधारमा समयानुकुल आवश्यक सल्ला र सुझाव पनि दिएको श्रेष्ठले सुनाए । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मैले यो संस्थालाई सुधारी संस्था दर्ता ऐन २०३४ र संघको विधान २०४९–०५० अनुसार आर्थिक क्रियाकलाप पारदर्शी राखि एउटा उत्कृष्ट नेपालकै नमूना संस्थको रुपमा विकसित गर्ने उद्देश्यले आफ्नो सोझो तरिकाले प्रयास गरेको थिएँ ।’

आफूले पटक–पटक प्रयास गर्दापनि सफल नभएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमै २०७३ भदौ १३ गते उक्त संस्थाविरुद्ध उजुरी गरेको पनि श्रेष्ठले जनाए । उनले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘मैले प्रमुख जिल्ला अधिकारीसमक्ष मलाई कुनै पदमा बसि काम गर्ने ईच्छा नभएको भनि लिखित घोषणा समेत गरेको छु । उक्त उजुरीमाथि विभिन्न मितिमा उक्त संस्थासँग स्पष्टीकरण माग गरि सत्य, तथ्य बुझि अन्तमा जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका चार सदस्यीय छानबिन कमिटी मिति २०७४ माघ ०३ मा गठन भई उक्त छानबिन कमिटीले २०७५ बैशाख ३१ गते तत्कालिन प्रमुख जिल्ला अधिकारीज्यू समक्ष पेश गरिएको प्रतिवेदनमा उक्त संस्थाका संचालक समितिलाई दोषी ठहर गरि थप छानबिनको सिफारिश गरेको थियो ।’

उनले छानबिन समितिको प्रतिवेदन आई नसकेको, संस्थाको हिसाबकिताबबारे सदस्यहरुलाई जानकारी नगराएको, मनोमानी आफ्नो समर्थकहरु मात्र छानीछानी १४४ सदस्य रहेको संस्थामा ९० जनाको मात्र मतदाता नामावली प्रकाशित गरेको र उम्मेदवारी दर्ता गर्ने मिति र समय नै पारदर्शी नभएको भन्दै आपत्ति जनाएका छन् ।