धनी र गरिबबीचको दूरी बढ्दै गएको ‘असमानताका विरुद्ध संघर्ष’ प्रतिवेदनको ठहर

धनी र गरिबबीचको दूरी बढ्दै गएको ‘असमानताका विरुद्ध संघर्ष’ प्रतिवेदनको ठहर


नेपालका कुल १० प्रतिशत धनी व्यक्तिको आय ४० प्रतिशत गरिब नेपालीको आयभन्दा तीन गुणाले बढी रहेको पाइएको छ ।

मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी), अक्सफाम नेपाललगायत संस्थाले गरेको एक अध्ययनमा नेपालमा धनी र गरिबबीचको असमानताको खाडल बढ्दै गएको पाइएको हो । धनी असाध्यै धनी बन्दै जाने, मध्यमवर्ग पनि गरिबीको दिशामा धकेलिने तथा गरिब झनभन्दा झन गरिब बन्दै जाने प्रवृत्ति बढ्दै गएको छ ।

राज्यको साधन स्रोत सीमित व्यक्तिको हातमा मात्रै पर्ने हुँदा त्यसले गरिबी घटाउन सार्थक प्रयाससमेत हुन नसकेको पाइएको छ । ‘असमानताका विरुद्ध संघर्ष’ नाम दिइएको उक्त प्रतिवेदन राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले शुक्रबार सार्वजनिक गरे ।

उक्त प्रतिवेदनमा चरम असमानताले शक्तिशाली मानिसलाई नीति निर्माणमा अनुचित प्रभाव पारी आफ्नो स्वार्थअनुसार मोड्ने अवसर मात्र प्रदान गर्दैन, त्यसले राजनीतिक नेतृत्वलाई समेत विकृत पार्ने उल्लेख गरिएको छ ।

आम्दानीमा असमानता र सम्पत्तिमा असमान पहुँचले असमानताको दायरा फराकिलो भइरहेको छ । त्यसमा पनि लैंगिक असमानताले आर्थिक असमानता अझ बढाउने काम भइरहेका कारण लंैगिक असमानता अझ बढ्दै गएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘एक गरिब महिलाभन्दा धनी महिलाको विद्यालय जाने सम्भावना चार गुणा बढी रहेको छ भने, धनी पुरुषमा यस्तो सम्भावना ५० गुणाभन्दा बढी रहन्छ ।’

नवउदारवादी नीतिले राज्यद्वारा गरिने लगानी तथा नियमनलाई बजारोन्मुख आर्थिक नीतिले प्रतिस्थापन गरेका कारण समस्या बढ्दै गएको पाइएको छ । राज्यले हस्तक्षेप नगर्ने हो भने बजारका कारण सम्पत्ति र शक्ति निश्चित व्यक्तिको हातमा मात्र पुग्ने सम्भावना बढाइदिएको छ ।

०४८ पछि नेपालमा अवलम्बन गरिएको नवउदारीकरणको नीतिमा सार्वजनिक खर्चमा कटौती गर्दै निजीकरणलाई टेवा पु¥याएको प्रतिवेदनले औँल्याएको छ । राज्यले सञ्चालन गरेका कुल ३० वटा उद्योग नाफामा हुँदाहुँदै पनि निजीकरण गरिए । तीमध्ये ११ वटा उद्योग मात्र हाल सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि पाँचवटा उद्योगले मात्रै हाल नाफा गरिरहेका छन् । निजीकरणले गर्दा सरकारलाई रु. चार अर्ब ९३ करोडबराबरको घाटा लागेको छ ।

प्राकृतिक प्रकोप, भूकम्पजस्ता विपत्तिको मारसमेत कम आय भएकालाई नै बढी पर्ने गरेको पाइएको छ । भूकम्पीय जोखिममा नेपाल विश्वमा ११औँ स्थानमा छ भने अन्य प्रकोपका दृष्टिकोणले पनि २०औँ स्थानमा छ ।

प्रकोपका कारण सन् २०११ देखि २०१५ का बीचमा १२ हजार बढीले ज्यान गुमाए । यस्तै २६ हजार ४५३ नागरिक घाइते भए । सो अवधिमा मात्रै नेपालाई रु. सात अर्ब ८० करोड अमेरिकी डलरबराबरको आर्थिक घाटा भएको अनुमान गरिएको छ ।

करको दायरा बढाउने भनिए पनि धनी व्यक्तिलाई अझै कम मात्रै कर लगाइएको प्रतिवेदनले आँैल्याएको छ । चालू आर्थिक वर्षको बजेटमा निर्माण, वन उद्योग र खनिज उत्खननजस्ता उद्योगलाई २५ प्रतिशत कर तोक्नुको साटो विशेष छुट दिएर १५ प्रतिशत मात्रै कायम गरिएको छ । भन्सारमा लाग्ने करको दर पनि कम छ । विश्व व्यापार संगठनको सदस्य बन्दा राखिएका सर्तका कारण करको मात्रा घटाइएको छ । त्यस्ता प्रावधानले उच्च आयातकर्ता र नाफामूलक कम्पनीले तिर्नुपर्ने करको दायित्व सीमित गरी देशको असमानता सामना गर्ने क्षमता घटाइरहेको छ ।

गरिबी, असमानता नियन्त्रण गर्न अत्यावश्यक मानिएका क्षेत्रमा राज्यको बजेट न्यून रहेको छ । स्वास्थ्य, शिक्षाको बजेट क्रमशः घट्दै गएको छ । सार्वजनिक सेवाका क्षेत्रमा समेत असमानताको मात्रा बढी छ । नेपालको जनसंख्यालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन अझै ११ हजारभन्दा बढी चिकित्सक आवश्यक पर्ने भए पनि सरकारले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यको दायित्व छाडेर असमानता बढाइरहेको छ ।

सन ०१६–१७ मा मात्रै दुई लाख ७७ हजार ३४४ गर्भवती महिला असुरक्षित सुत्केरी भएका र १५ हजार ७६० महिला तालिम प्राप्त स्वास्थ्यकर्मीको अनुपस्थितिमामै सुत्केरी हुनुपरेको तथ्यसमेत प्रतिवेदनमा समेटिएको छ । नेपालमा मातृ मृत्युदरको अनुपात प्रतिएक लाख जीवित जन्ममा २३९ छ भने बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ३२ रहेको छ । ९० प्रतिशत धनी महिलाको तुलनामा ३० प्रतिशत गरिब महिला मात्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

असमानता न्यूनीकरणका लागि गरिब, किसान तथा भूमिहीनलाई फाइदा पुग्ने गरी न्यायोचित भूमि पुनः वितरण गर्न, प्रगतिशील भूमिसुधार कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ । यस्तै कर प्रणालीमा सुधार गर्न प्रगतिशील कर प्रणाली कार्यान्वयन गर्ने, कर छुटको प्रावधान घटाउने, पारदर्शिता सुनिश्चित गर्ने, तथा कर छल्ने, कर नतिर्ने र कर चुहावट गर्नेलाई आवश्यक दबाब तथा कानुनी प्रबन्ध गर्ने, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता असमानता न्यूनीकरण गर्न कार्यक्रम लागू गर्ने सुझाव प्रतिवेदनले दिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको व्यापारीकरण र निजीकरणलाई निरुत्साहित गर्दै हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य, शिक्षा तथा आधारभूत सामाजिक संरक्षणको व्यवस्था गर्ने, महिला, बालबालिका तथा अल्पसंख्यकमाथि भइरहेको शोषणको अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष डा. कँडेलले सरकारले १५औँ योजनाको तयारी गरिरहेका बेला आएको यस्तो प्रतिवेदनले सरकारलाई थप मार्ग निर्देशन गर्ने बताए । कार्यक्रममा सांसद वृन्दा पाण्डे, आयोगका सदस्य मीनबहादुर शाही, सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डा. डिल्लीराज खनाललगायतले प्रतिवेदनले समेटेका तथ्यको आधारमा असमानता घटाउने नीति तथा कार्यक्रम तय गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

रमेश लम्साल (रासस)