३१ करोडको लगानीमा अस्पतालको नयाँ भवन बन्ने

३१ करोडको लगानीमा अस्पतालको नयाँ भवन बन्ने


  • हेमशंकर सिंह, राजविराज

जिर्ण अवस्थामा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको पुरानो भवन विस्थापित भई अब नयाँ पक्की भवन निर्माण हुने भएको छ ।

हिजो विहीबार उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले एक समारोहका बीच गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल भवनको शिलान्यास गरेपछि अस्पतालले नयाँ रुप पाउने भएको छ । सोही अवसरमा मन्त्री यादवले अस्पतालमा एनआईसियु सेवाको उदघाटन तथा नगर क्षेत्रका विभिन्न सडकको शिलान्यास समेत गरेका छन् ।

शहरी विकास मन्त्रालयको सहयोगमा ३१ करोड, ६ लाख, २० हजार १ सय ४७ (मुल्य अभिवृद्धि कर वाहेक) लगानीमा अस्पतालको पुरानो संरचना भत्काई पुर्ण सुविधायुक्त नयाँ भवन बनाउन लागिएको अस्पालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

तीनतल्ले अस्पतालको नयाँ भवनमा विभिन्न वार्ड, विभाग र चिकित्सक वस्ने क्वाटर सहित कुल ६६ वटा कोठाहरु रहने छन् । भुकम्प प्रतिरोधी हुने नयाँ भवन १५ असाढ २०७८ भित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने तयारी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख रमेश थिङले जानकारी दिए ।

सो अवसरमा मन्त्री यादवले अस्पताल व्यवस्थीत भएपछि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढने मात्र नभई यहाँको आर्थिक गतिविधि समेत बढने विश्वास व्यक्त गरे । कार्यक्रममा सहरी विकास मन्त्री ईस्ताईक राईन, प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राष्ट्रिय सभाका सदस्य सुमन राज प्याकुरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव लगायतले मन्तव्य व्यक्त गर्दै परिर्वतीत समयसँगै आवश्यक पुर्वाधार निर्माण र सर्व सधारणलाई भरपर्दो सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए ।

विहीबार नै विहान मन्त्री यादवले राजविराजमा प्रस्तावित रामराजा प्रसाद सिंह मेडिकल कलेज निर्माण स्थलको निरिक्षण गरेका छन् । सो क्रममा उनले भने– रामराजा प्रसाद सिंह मेडिकल कलेज यस क्षेत्रको मात्र नभई प्रदेशकै स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा सावित हुने छ ।

प्रस्तावित मेडिकल कलेजका लागि राजविराज नगरपालिकाले वडा १० मा करिव ८६ विघ्घा जग्गा यस अघिनै उपलब्ध गराउने निर्णय गरिसकेको छ ।