कति पारिश्रमिक लिन्छन् बलिउड-कलाकार ?

कति पारिश्रमिक लिन्छन् बलिउड-कलाकार ?


बलिउड अभिनेत्रीहरूको सौन्दर्यको चर्चा विश्वभरि गरिन्छ । उनीहरुको कला र सौन्दर्यको पारखी विश्वभरि छन् । यो अर्थमा सोझै अनुमान लगाउन सकिन्छ– उनीहरुको बलिउडमा पुरुषसमान हैसियत छ । बलिउड सिनेमा महिला अभिनेत्रीहरूको हैसियत पुरुषसमान भए पनि आर्थिक रुपमा बलिउड पुरुषप्रधान छ । एउटा फिल्म खेलेवापत चर्चित नायकले जति ठूलो धनराशी लिन्छन् त्यसको तुलनामा चर्चित नायिकाको लिने रकमको कुनै खासै तुलना गर्न सकिँदैन । आखिर एउटा फिल्म खेलेको कति लिन्छन् त बलिउडका चर्चित नायक–नायिका, त्यसको तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

साँचो रुपमा भन्नुपर्दा बलिउडका टपटेनमा रहेका नायकभन्दा पनि चर्चित नायिकाहरुले कम रकम पाउँछन् । यही कुरा मध्यनजर गर्दै बलिउडकी अहिलेकी नम्बर एक नायिका दीपिका पादुकोणले आफुलाई नायकबराबरको रकम दिए मात्र फिल्म खेल्न अन्यथा नखेल्ने बताएकी थिइन् । यतिबेला दीपिका बलिउडकी सबैभन्दा महँगी नायिका हुन् । उनी एक फिल्म खेलेको कति लिन्छिन् र अन्य नायिकाले कति पाउँछन् त्यो अहिले चर्चा गर्न खोजिएको हो ।

बलिउडकी सबैभन्दा महँगी नायिकाको रुपमा परिचित दीपिकाले एक फिल्म खेलेवापत १४ करोड भारतीय रुपैयाँ लिन्छन् । त्यस्तै दोश्रो नम्बरकी नायिका प्रियंका चोपडाले १३ करोड र करिना कपुरले ११ करोड पाउँछिन् । यी पहिलो तीन स्थान ओगटेका नायिकाले १० करोड भन्दा माथि पाउने भए पनि अन्य नायिका १० करोडको आसपासमा पनि छैनन् । चर्चित नायिका क्याटरिना कैफ, अनुष्का शर्मा र आलिया भट्ट ६ देखि ३ करोडमै सीमित छन् । त्यस्तै अन्य शीर्ष दसमा पर्ने नायिकाले एकदेखि दुई करोडसम्म पाउँछन् ।

बलिउडमा सबैभन्दा महँगा नायकको रुपमा सलमान खानलाई चिनिन्छ । सलमान एक फिल्म खेलेको ६० करोड भारतीय रुपैयाँ लिन्छन् । सलमानपछि सबैभन्दा बढी रकम लिने नायकमा अमिर खान दोश्रो नम्बरमा पर्छन् । अमिरले एक फिल्म खेलेको ५० देखि ५५ करोड लिने गरेका छन् । त्यस्तै, तेस्रो र चौथो नम्बरमा शाहरुख खान र अक्षय कुमार रहेका छन् । उनीहरू एक फिल्म खेलेको ४० देखि ४५ करोड लिन्छन् । यसैगरी पाँचौँ नम्बरमा रहेका ऋतिक रोशन एक फिल्म खेलेको ४० करोड र छैठौँ नम्बरमा रहेका रणबीर कपुरले २५ करोड लिने गरेको स्रोतले जानकारी गराएका छ ।

ढल्किँदो उमेरमा पनि बिग बी अमिताभ बच्चन बलिउडमा सबैभन्दा महँगा नायकको शीर्ष सातमा परेका छन् । अमिताभ एक फिल्म खेलेको १८ देखि २० लिँदै अहिले पनि युवा नायकहरुलाई टक्कर दिइरहेका छन् । त्यस्तै बलिउडमा प्रतिभाशाली नायकको रुपमा परिचित रणबीर सिंहले एक फिल्मवाट २० करोड पाउने गरेका छन् । सन् २०१८ को अन्तिममा प्रदर्शनमा आएको ‘सिम्वा’ले बक्स अफिसमा तहल्का मच्चाएपछि रणबीरको भाउ अझै बढ्ने अड्कल काटिएको छ । यसैगरी आफ्नो दमदार अभिनयका कारण चर्चामा आएका शाहिद कपुरले १५ देखि १८ करोड र युवाहरुको मुटुका धड्कन बनेका टाइगर श्रापले १० देखि ११ करोड लिने गर्छन् ।

यसरी बलिउडमा नायकको तुलनामा नायिकाले पाउने रकम ज्यादै न्युन छ । जसको बेलाबेलामा नायिकाहरूले विरोध गर्दै समान पारिश्रमिक पाउनु पर्ने माग राखेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन । लोकप्रियताको दृष्टिकोणले नायकभन्दा नायिका कम नभएपनि बलिउडमा किन यस्तो भेदभाव गरिन्छ त्यो उत्तरविहीन छ ।