प्रधानसेनापतिको ६ दिने भारत भ्रमण

प्रधानसेनापतिको ६ दिने भारत भ्रमण


प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक थापा आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापाको भ्रमण दलमा श्रीमती दीपा थापा, सैनिक इन्टिलिजेन्स महानिर्देशक उपरथी झंकरबहादुर कडायतलगायत सातजना रहेका छन् ।

भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट भोलि सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गनेछन् ।