कृषि तथा वनविज्ञान विश्वविद्यालयका निजी कलेजको भर्ना अवैधानिक : उपकुलपति ढकाल

कृषि तथा वनविज्ञान विश्वविद्यालयका निजी कलेजको भर्ना अवैधानिक : उपकुलपति ढकाल


कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताएका छन् ।

सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सातवटा क्याम्पसले पत्रिकामा विज्ञान प्रकाशन गरेर भर्ना प्रक्रिया अघि बढाएका छन् । उनीहरूले विश्वविद्यालयले हालै विश्वविद्यालय र आंगिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि सूचना प्रकाशन गरेका हुन् ।

विश्वविद्यालयका उपकुलपति ढकालले यसअघि प्रकाशित सूचनामा विश्वविद्यालय र आंगिकको कोटा निर्धारण गरी भर्ना आह्वान गरिएकाले सो कोटाबाट निजी क्याम्पसले भर्ना लिन नपाउने बताए । उनले भने, ‘निजी क्याम्पसको भर्नालाई विश्वविद्यालयले मान्यता दिँदैन ।’ ढकालका अनुसार डिनको कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी आफूखुसी भर्ना नलिन सूचित गरेको बताए ।

मेरिटका विद्यार्थी भर्ना गर्ने अधिकार निजी क्याम्पसलाई नभएको उल्लेख गर्दै ढकालले विश्वविद्यालयले गर्नुपर्ने आवश्यक तयारीसमेत नभएको बताए । सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको र विश्वविद्यालयसँग परामर्श नभएकाले निजी क्याम्पसको भर्ना विश्वविद्यालयलाई स्वीकार्य नहुने उनको भनाए छ ।

ढकालका अनुसार कार्यकारी परिषदले भर्ना प्रक्रिया अघि बढाउनुअघि केन्द्रीय अनुगमन गर्नुपर्ने भनेको भए पनि सो कार्य विश्वविद्यालयले नगरेको र निजी क्याम्पसले अस्थायी सम्बन्धन मात्र पाएको उनको भनाइ छ ।

भर्ना आह्वान गर्नेमा भ्याली कृषि क्याम्पस ललितपुर, पूर्वाञ्चल कृषि क्याम्पस झापा, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत, गोरखा पोलिटेक्निक कलेज एन्ड रिसर्च सेन्टर बाँके, रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज नवलपरासी, जीविका कृषि क्याम्पस सुनसरी र सिद्धान्त कलेज गैँडाकोट छन् । सिद्धान्त कलेज गैँडाकोटले वनको कार्यक्रम चलाउन सम्बन्धन पाएको थियो । कृषिको सम्बन्धन पाएको गैँडाकोटको हिमछाया कलेजले मात्रै विद्यार्थी भर्नाको सूचना निकालेको छैन । कलेज मुद्दा प्रक्रियामा पनि सहभागी भएको छैन ।

विश्वविद्यालयले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सम्बन्धन दिएका निजी कलेजका लागि गएको मंसिर १७ गते भर्नासम्बन्धी प्रवेश परीक्षा रोक्का गरेको थियो । सोपश्चात् निजी क्याम्पसको भर्ना खारेज गरिएको ढकालले बताए ।

मुद्दाबारे बिहीबार सर्वोच्च अदालतमा पेसी तोकिएको भए पनि स्थगित भई चैत १८ गतेका लागि सरेको छ । निजी कलेजको प्रवेश परीक्षा रोकेर विश्वविद्यालय केन्द्रीय क्याम्पस र पाँचवटा आफ्ना आंगिक क्याम्पसमा प्रवेश परीक्षा मात्रै लिएको थियो । कृषि संकायको पुस १४ गते र वन संकायको ७ गते प्रवेश परीक्षा लिइएको थियो ।

विश्वविद्यालयले केन्द्र र आंगिकमा गरी ४१५ जना कृषि स्नातक र १३० जना वन स्नातक पढाउन शुरु गरेको छ । यता भर्ना आह्वान गरेको सिद्धान्त कलेज गैँडाकोटका सञ्चालक छविलाल कँडेलले विश्वविद्यालयले निजी क्याम्पसलाई समेत सम्बोधन गरेर जारी गरेको सूचना र सर्वाेच्च अदालतको आदेशलाई आधार मानेर भर्ना आह्वान गरिएको बताए ।

उनका अनुसार विश्वविद्यालयले २० दिनसम्म निजीमा समेत भर्ना गर्नका लागि सूचना जारी गरेकोमा २१औँ दिनमा निजी हटाएको थियो । सोपश्चात् सर्वाेच्च पुगेका निजी क्याम्पसलाई सर्वाेच्चले संशोधित सूचना कार्यान्वयन नगर्नू–नगराउनू भनी विश्वविद्यालयलाई आदेश गरेको कँडेलले जानकारी दिए । सोही आधारमा निजी कलेजले भर्ना लिएको उनको भनाइ छ । निजी क्याम्पसमा विद्यार्थीको भर्ना हुनेक्रम जारी छ ।