विश्वकै धनी दम्पतीको बाटो अलग

विश्वकै धनी दम्पतीको बाटो अलग


हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पतीको सम्बन्धविच्छेद भएको छ ।

संस्थापक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन् । अमेजनको सीईओको ट्विटर एकाउन्टबाट दुवैजनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै वैवाहिक जीवन राजीखुसीले अत्य गरेको उल्लेख गरेका छन् । उनीहरूले आफूहरू श्रीमान–श्रीमतीका रूपमा नरहे पनि नजिकको साथीका रूपमा भने रहिरहने जानकारी पनि दिएका छन् ।

‘लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अब छुट्एिका छौँ, हामीले सम्बन्धविच्छेद गरे पनि साथीको रूपमा हामी रहिरहनेछौँ,’ वक्तव्यमा भनिएको छ ।

एक–अर्काप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूले लेखेका छन्, ‘हामीले सँगै बिताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो, एक–अर्कालाई पाएकोमा हामी भाग्यमानी हौँ, हामी एक–अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौँ ।’ उनीहरूले ‘अहिले सम्बन्धविच्छेद हुने कुरा विवाह अगाडि नै थाहा पाएको भए पनि हामीले विवाह गर्ने थियौँ,’ भनेका छन् ।

यो जोडीका चार सन्तान रहेका छन् । करिब पच्चीस वर्ष पहिले स्थापना भएको अमेजन कम्पनी विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति एक खर्ब ३५ अर्ब पुगेको र अहिलेको अवस्थामा अब विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेका अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमबर्ग अर्बपति सूचकांकले सोमबार मात्रै देखाएको थियो । उनले माइक्रोसफ्टका बिल गेट्सलाई सन् २०१७ मा पछि पार्न सफल भएका थिए । अमेजनले पहिलोपटक सोमबार सबैभन्दा उच्चस्थान ओगट्न सफल भएको थियो ।