नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत

नेपालका सहकारीमा तीन खर्ब दुई अर्ब बचत


नेपालका सहकारीमा रु. तीन खर्ब दुई अर्ब बचत संकलन भएको छ । राष्ट्रिय सहकारी महासंघका अनुसार कुल ३५ हजार ५ सय १२ सहकारीमा उक्त रकम बचत संकलन भएको हो । संकलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासंघका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिए । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजारभन्दा बढीलाई रोजगारी दिएको खनालले बताए ।

विभिन्न २० प्रकारका सहकारीहरू महासंघमा आबद्ध रहेको बताउँदै खनालले कुल गार्हस्थ उत्पादनमा सहकारीको योगदान चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत रहेको जानकारी दिए । त्रिसठ्ठी लाख सेयर सदस्य रहेको सहकारीमा महिलाको संख्या ५१ प्रतिशत रहेको महासंघले जनाएको छ ।

मिश्रित अर्थव्यवस्था रहेको नेपालको संविधान ०७२ ले सार्वजनिक, निजी सहकारी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिको परिकल्पना गरेको सन्दर्भमा सहकारीमार्फत उद्यम विकासमा भूमिका खेल्नुपर्ने निष्कर्षका साथ अहिले तीन सयभन्दा बढी सहकारीकर्मी उद्यम प्रवद्र्धनका लागि काठमाडौंमा भेला भएका छन् ।

भेलामा सहभागी महासंघका सल्लाहकार हरिकृष्ण उपाध्यायले सहकारीबाटै समृद्धि हासिल गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । प्रभावकारी र दिगो सहकारीका लागि सदस्यहरू धेरै हुनुपर्ने, आर्थिक समुन्नतितर्फ गएको हुनुपर्ने र राम्रो प्रशासनको आवश्यकता हुनुपर्ने उपाध्यक्षको भनाइ थियो ।

सहकारी सामाजिक व्यवसाय भएकाले यसबाट लघु, मझौला तथा ठूला उद्यम प्रवद्र्धन गरी स्वरोजगारको सिर्जना गर्दै आर्थिक उन्नति गर्न सकिनेछ । सहकारी विभागका रजिस्ट्रार शिवकुमार कार्कीले तीन खम्बामध्येको एक खम्बाको औचित्य पुष्टि गर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याए ।

३५ हजार ५ सय १२ सहकारीमा तीन खर्ब दुई अर्ब बचत, दुई खर्ब ७२ अर्ब ऋण लगानी, ६० हजारभन्दा बढीलाई रोजगारी, त्रिसठ्ठी लाख सेयर सदस्य रहेकोमा महिला ५१ प्रतिशत, कुल गार्हस्थ उत्पादनमा चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान

सहकारी ढाँचाले छरिएर रहेको श्रम, सीप र पुँजीलाई एकत्रित गरी सहकारी उद्यम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ । सहकारी क्षेत्रको योगदानलाई उल्लेख्य वृद्धि गरी साना, मझौला तथा ठूला उद्यम प्रवद्र्धन गर्नु आजको अपरिहार्य आवश्यकता भएकाले राज्यको ध्यान जानुपर्ने सहकारीकर्मीको भनाइ छ ।

सहकारीको विकासका लागि सकारात्मक सोचको विकास जरुरी रहेको भन्दै राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले साना किसानको आर्थिक जीवनस्तर उकास्न सहकारीको ठूलो योगदान रहेको बताए ।

राज्य, समाज र पुँजी निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुन्छ । साना किसानको सारथि बनेको सहकारी उनीहरूको ऋण लगानी र बचत संकलनमा सहयोगी भूमिका खेल्दै आए पनि ठूला उद्यम विकासमा अझै जान सकेको छैन ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नवीन प्रविधिलाई अवलम्बन गरी उद्यम व्यवसायको विकास गर्नुपर्ने उल्लेख गर्दै परम्परागत व्यवसायलाई विविधिकरण गरी उत्पादन, वितरण र सेवाको क्षेत्रमा सहकारीको भूमिका वृद्धि गर्नुपर्नेमा जोड दिए ।