वितरण प्रणालीमा लोड बढेपछि विद्युत आपूर्तिमा समस्या

वितरण प्रणालीमा लोड बढेपछि विद्युत आपूर्तिमा समस्या


  • छविलाल बगाले

    केही सातायता देशभर विद्युत आपूर्ति अनियमित छ । चिसो मौसममा बढ्ने माग र प्रणाली कमजोरीका कारण आपूर्तिमा केही समस्या देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणको प्रणालीमा अहिले १ हजार २ सय २७ मेगावाट विद्युत छ ।

पछिल्लो समय बिशेष गरी ‘पिक आवर’ अर्थात साँझ ६ देखि ८ बजेसम्म विद्युत आपूर्ति अनियमित छ । चिसो मौसममा बढ्ने मागअनुसार प्रणाली सुधार नगरिँदा आपूर्ति अनियमित भएको जनाएको प्राधिकरणले त्यसलाई ‘लोडसेडिङ’का रुपमा नबुझ्न आग्रह पनि गरेको छ । प्राधिकरणका आयोजनाको ४ सय ७२, निजी क्षेत्रको १ सय ९१ र भारतबाट आयातित ५ सय ६४ मेगावाट गरी अहिले प्रणालीमा १ हजार २ सय २७ मेगावाट विद्युत छ । माग त्यसभन्दा १२ मेगावाट कम अर्थात् १ हजार २ सय १५ मेगावाट मात्रै छ ।

मागअनुसारको विद्युत हुँदा–हुँदै कमजोर वितरण प्रणालीमा लोड बढेपछि समस्या आएको प्राधिकरणको निष्कर्ष छ । जाडोमा लोड बढेसँगै सब–स्टेसन, टान्सफर्मर र वितरण प्रणाली ‘अपग्रेड’ गर्नुपर्छ । तर, अपग्रेड नहुँदा ट्रान्सफर्मर पड्किने, तार जल्नेलगायत समस्यासँगै विद्युत आपूर्ति अनियमित भएको हो ।

प्राधिकरणले विद्यमान समस्या हल गर्न के गर्दैछ त ?

–आवश्यक स्थानमा ट्रान्सफर्मरको संख्यामा बृद्धि गर्ने र नयाँ फेर्ने
–मुलकभरका लागि १४ हजार ट्रान्सफर्मर आयात गरिँदै
–तार र लोड सेन्टरको क्षमतामा बृद्धि
–अन्डरग्राउड केबलिङको प्रयास

लामो समयसम्म लोडसेडिङ हटाउने अभियानमा लागेको प्राधिकरण अहिले दैनिक करिब २ हजार मेगावाटसम्मको विद्युत वितरण गर्ने गरी प्रणाली स्तरोन्नतीको चरणमा छ । सहरी क्षेत्रका लोड सेन्टरमा ट्रान्सफर्मर परिवर्तन र नयाँ जडानमा स्थानीयले नै अबरोध गर्दा पनि समस्या हुने गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले प्राविधिक कारणले विद्यत अनियमित भएको तर लोडसेडिङ भने नभएको प्रष्ट पारेका छन् ।