प्रदेश नं २ विकास र स्वास्थ्यमा पछाडि : उपप्रधानमन्त्री यादव

प्रदेश नं २ विकास र स्वास्थ्यमा पछाडि : उपप्रधानमन्त्री यादव


उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको नयाँ अस्पताल भवनको शिलान्यास गरेका छन् ।

सो अवसरमा उपप्रम यादवले अस्पताल व्यवस्थित भएपछि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै नभई स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढ्ने विश्वास व्यक्त गरे । अञ्चल अस्पतालभित्रै रु ३१ करोडको लागतमा नयाँ पक्की एनआइसियू भवन निर्माण हुन लागेको हो । साथै उहाँले प्रदेश नं २ विकास र स्वास्थ्यमा पछाडि परेको भन्दै सप्तरीबाटै विकासले गति लिने बताए ।

अस्पालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दासका अनुसार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल प्राङ्गणमै स्वास्थ्य मन्त्रालयको सहयोगमा ३०० श्ययाको भवन निर्माण हुन लागेको हो । कूल रु ३१ करोड ६ लाख २० हजार १४७ को लागतमा २०७८ साल असार १५ गतेभित्र निर्माण सम्पन्न हुनेछ । सुविधासम्पन्न भवनबाट रेडियोलोजी, प्याथोलोजी, मेडिसिन, सर्जरी, गाईनो, आइसियु तथा एनआइसियु, डायलाइसिस, इमजेन्सी लगायतका सेवा सञ्चालन हुने जनाएको छ ।

कार्यक्रममा शहरी विकासमन्त्री इश्तियाक राई, प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, स्वास्थ्य सचिव डा पुष्पा चौधरी लगायतले आवश्यक पूर्वाधार निर्माण र सर्वसाधारणलाई भरपर्दो सेवा दिन आफूहरु प्रतिबद्ध रहेको बताए ।

बिहीबा। नै उपप्रम यादवले राजविराजमा प्रस्तावित रामराजाप्रसाद सिंह मेडिकल कलेज निर्माणस्थलको निरीक्षण गर्दै रामराजाप्रसाद सिंह मेडिकल कलेजले स्थानीय क्षेत्रको मात्र नभई प्रदेशकै स्वास्थ्य क्षेत्रका लागि कोशेढुङ्गा साबित हुने उल्लेख गरे ।