क्वार्टरफाइनलमा न्यु डायमन्ड र आर्मीबीच भिडन्त

क्वार्टरफाइनलमा न्यु डायमन्ड र आर्मीबीच भिडन्त


न्यु डायमन्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यु डायमन्ड र नेपाल आर्मीबीच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेलमा न्यु डायमन्डले चितवन टाइग्रेसलाई २५–१३, २५–१८ र २५–११ को सेटमा हरायो । दोस्रो खेलमा नेपाल पुलिसले नेपाल आर्मीलाई २५–२१, २५–२१ र २५–१८ को सोझो सेटमा हरायो । न्यु डायमन्ड समूह ‘ए’ को विजेता हँुदै समूह ‘सी’को उपविजेताको रूपमा नेपाल आर्मीसँग क्वार्टरफाइनलमा भिडन्त पक्का भएको हो ।

आयोजक न्यु डायमन्ड एकेडेमीको कोर्टमा भएको अन्य लिग खेलमा एपीएफ र टप्सले पनि जित निकाल्दै समूह विजेताको रूपमा क्वार्टरफाइनलमा स्थान बनाए । एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र्रलाई २५–५, २५–१० र २५–८ को सोझो सेटमा हराउँदा टप्सले पारामाउन्टलाई २५–१४, २५–१२ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो । बुधबार हुने क्वार्टरफाइनल खेलमा न्यु डायमन्डले आर्मी, पुलिसले चितवन टाइग्रेस, एपीएफले पारामाउन्ट तथा टप्सले जाउलाखेलसँग खेल्नेछन् ।

चारदिने प्रतियोगिताको उदघाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले गरेका थिए । प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।