जुनियर ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता

जुनियर ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता


दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । दाहालले म्यानमारका थु रिनलाई यू–१९ विधामा २१–११, २१–१५ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै यू– १५ का नेपाल नम्बर एक ¥याङकिङका खेलाडी उनले नेपालकै रोहित बराललाई २१–६, २१–११ ले पाखा लगाउँदै सेमिमा स्थान पक्का गरेका हुन् ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यू– १९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले आफ्नै देशका सत्यम सुब्बालाई २१–४, २१–१० ले हराउँदै नेपालकै पविन लिन्थेपसँग सेमिमा प्रतिस्पर्धा गर्ने भएका छन् । पविनले प्रनिशसिंह ठकुरीलाई निर्णायक खेलमा २१–१२, १६–२१, २१–१६ ले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यस्तै रुकेश महर्जनले सहरोज अन्सारीलाई २१–१४, १५–२१, २१–१७ ले पराजित गरे । महर्जनले अब सेमिफाइनलमा प्रिन्ससँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

यू–१५ ब्वाइजतर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे । हिमालले विवेक चौधरीलाई २१–१६, २१–१९, रोशन साउदले उज्ज्वल श्रेष्ठलाई १३–२१, २१–१२ र २१–१३ ले तथा ज लिनले नेपालका अनिष खतिवडालाई २१–१६, २१–११ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

छात्रा यू– १९ तर्फको खेलमा जेशिका गुरुङ, सीमा राजवंशी, रञ्जना भट्ट र रशिला महर्जनले अन्तिम चारको यात्रा तय गरे । जेशिकाले निता लम्साललाई २१–१०, २१–६, सीमाले विश्ना विष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१–१२, २१–१२ ले तथा रशिलाले अञ्जना राईलाई २१–२, २१–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । विश्ना खेलका दौरान घुँडामा चोट आएका कारण खेलबाट बाहिरिएकी थिइन् ।

ब्वाइज यू– १९ युगलतर्फको खेलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले पराजित गरे । अब महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । शेर्पाको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१–११, २१–१२ ले पाखा लगाए । यस्तै अर्को सेमिफाइनलमा पविन लिनथेप र दिवश विश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । लिनथेपको जोडीले शिव थापा र सहरोज अन्सारीको जोडीलाई २१–१२, २१–१७ तथा थुको जोडीले रोहित बराल र उज्ज्वल श्रेष्ठको जोडीलाई २१–५, २१–१५ ले पाखा लगाएका हुन् ।