महिला बास्केटबलमा साइपालको दबदबा

महिला बास्केटबलमा साइपालको दबदबा


डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा शीर्ष स्थानमा रहँदै राउन्ड रोविन लिग टुंगाएको छ । लिगको अन्तिम दिन साइपालले आयोजक एनसीसीएसलाई ६०–४० ले हराउदै पाँच टिम सहभागी प्रतियोगितामा लगातार चौथो जित हात पाऱ्यो । अपराजित साइपालको जितमा रोशनी श्रेष्ठले १० अंक योगदान गरिन् । एनसीसीएसका लागि तनुजा गुरुङले १६ अंक जोडे पनि जितलाई पर्याप्त भएन ।

पहिलो र दोस्रो क्वार्टरमा १४–४ र १३–३ को अग्रता लिएको साइपाल तेस्रोमा १७–२० ले पछि प¥यो । अन्तिम तथा चौथो क्वार्टरमा साइपालले १६–१३ को प्रदर्शन ग¥यो । अर्को प्रतिस्पर्धामा एनसीसीएससँगै संयुक्त आयोजक रहेको विशाल मिलन केन्द्र (बीएमके) ले काठमाडौं नर्थ पोल क्लबलाई ३२–२० ले पराजित ग¥यो । पहिलो क्वार्टर ७–७ को बराबरीमा टुंगियो भने दोस्रोमा बीएमकेले ८ अंक जोड्दा नर्थ पोल अंकविहीन बन्यो । तेस्रोमा बीएमके ७–८ ले पछाडि प¥यो भने चौथोमा १०–५ को अग्रता हासिल गऱ्यो ।

राउन्ड रोविनको समाप्तिमा शतप्रतिशत जितसाथ साइपाल शीर्ष स्थानमा रहँदा ३ जित र १ हारसाथ समृद्धि गोरिल्लाज दोस्रो भयो । बीएमके (२ जित र २ हार) तेस्रो तथा नर्थ पोल (१ जित र ३ हार) चौथो भए । कुनै पनि खेल नजितेको एनसीसीएस प्रतियोगिताबाट बाहिरिएको छ ।

अब पहिलो स्थानको साइपाल र दोस्रो भएको समृद्धिले फाइनलमा प्रवेशका लागि खेल्नेछन् । यसमा पराजित हुनेले तेस्रो स्थानको बीएमके र चौथो स्थानको नर्थ पोलबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि खेल्न मौका पाउनेछ ।