पृथ्वीनारायणलाई सम्मान गर, पृथ्वीविचारको अनुशरण गर

पृथ्वीनारायणलाई सम्मान गर, पृथ्वीविचारको अनुशरण गर


  • खगेन्द्र सिटौला

नेतृत्व क्षमता, दूरदर्शी, कालजयी विचार, योगदान, काम र परिणामको हिसाबले मूल्याङ्कन गर्दा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नेपालका सबै नेताका पनि नेता प्रमाणित हुन्छन् । त्यस्तै, पृथ्वीनारायण शाहले अघि सारेका विचार नेपाली नेताका विचारका माउविचार ठहर्छन् । नेपालका सबै नेता र नेताहरूले अघि सारेका विचार दुवैमा उनी र उनका विचार ज्येष्ठ र श्रेष्ठ ठहर्ने हुनाले उनलाई र उनका विचारलाई ज्येष्ठ नेताका श्रेष्ठ विचार मान्दा अत्युक्ति हुँदैन ।

त्यसैले बिनाहिचकिचाहट, सङ्कीर्णता र पूर्वाग्रहबाट मुक्त भएर राज्यले राष्ट्रिय सहमतिको साथ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सगौरव बडानेता स्वीकार्दै बडानेताको बडाविचारलाई राष्ट्रिय एकता र समृद्धिको मूल आधार मान्नुपर्छ । पृथ्वीविचारलाई राष्ट्रिय सहमतिको मूल नीति–विचार बनाउने निर्णयमा सबै नेता र पार्टी पुग्नुपर्छ । राष्ट्रिय सहमतिको मूल राष्ट्रिय विचार पृथ्वी–विचारको फराकिलो स्वदेशवादी लोकतान्त्रिक राजमार्गबाट मुलुकलाई अघि बढाउनुपर्छ ।

यो बडानेताको बडाविचारलाई प्रचार गर्न र स्थापित गर्न सबै नेपाली जनताका पङ्क्ति, नेता, लेखक र खासगरी सञ्चारजगत् जिम्मेदारी, इमानदारी र सक्रियतापूर्वक लाग्नुपर्छ । किनभने यो विशाल नेपालको जगसँगै विशाल सम्भावना बोकेर उदाएको नेपाली विशेषताको मौलिक नेपाली विचार हो ।

हाम्रा दुवैतिरका विशाल छिमेकी मुलुक भारत र चीनलगायत सार्कका प्रायः सबै मुलुक मात्र होइन कि विश्वको एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको समेत छातीमा बेलायती याने अङ्ग्रेज उपनिवेशवादीले लेफ्ट–राइट खेलेका बुटका छाप छन् । तर, त्यही अङ्ग्रेज शक्तिको शिरमा पृथ्वीनारायण शाहले नेतृत्व र निर्देशन दिएका बहादुर देशभक्त गोर्खाली (नेपाली) योद्धाले प्रहार गरेको खुकुरीको ऐतिहासिक डोब छ । त्यही वीर नेपालीको खुकुरीले लगाइदिएको ऐतिहासिक डोब नेपालीसँग पराजित र लज्जित निसानीको रूपमा बोकिरहन एकताकाको कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्य बाध्य छ ।

सन्धुलीका बोट–बिरुवा, ढुङ्गामाटो सधैँ पृथ्वीनारायणकालीन नेपाली सौर्यको साक्षी बनेर बकिरहन्छन् सधैँ । यसले पनि पुष्टि हुन्छ बडोशक्तिलाई पराजित गर्ने पृथ्वीनारायण शाह स्वाभाविक रूपमा बडानेता ठहर्छन् । पृथ्वीनारायणले कुशलता र सफलतापूर्वक प्रयोग र विकसित गरेको छापामार युद्धशैली पछि चीनका बडानेता माओलगायत अन्य धेरै मुलुकका नेताले अनेक नामका मुक्ति आन्दोलन वा युद्धमा सफलतापूर्वक अनुशरण र प्रयोग गरेको दृष्टान्तले पनि पृथ्वीनारायण शाह बडानेता पुष्टि हुन्छन् युद्ध–कौशल र युद्ध–रणनीतिका हिसाबले पनि ।

बडानेता पृथ्वीनारायण शाह नेपाल राष्ट्रनिर्माता मात्र होइनन्, लोकतन्त्रको आधार निर्माता पनि हुन् । उनले आफूले चाहेका विराज बखतीलाई काजी बनाएनन् । बहुमत जनताले चाहेका कालु पाण्डेलाई काजी बनाएर राजा वा नेताको होइन, जनताको लोकतन्त्र त्यसैबैला शुरु गरिसकेका थिए ।

‘सबै जातको फूलबारी’, बहुमत जनताको समर्थन प्राप्त योग्यले शासन चलाउनु, जनता बलियो भए राज्य बलियो हुने मान्यता, जाइकटक नगर्नू, झिकी कटक गर्नू, घुस लिने–दिने दुवैको सम्पत्ति जफत गर्नु र ज्यान सजायसम्मको कानुन बनाउनु, राज्यले अन्याय हुन नदिनु, कृषियोग्य जमिन बस्तीले ढाक्नु, जडीबुटी, वन, जङ्गल, सीप, आय आम्दानी आदि उनका सर्वकालीन विचार सबै मुलुक र सबै मानिसका लागि सधैँ उपयोगी छन् । यी विश्वस्तरका विचार हुन् । तसर्थ नेपालका बडानेताका विचार संयुक्त राष्ट्रसङ्घको बडापत्रमा रहने हैसियतका भएकाले स्वाभाविक रूपमा उनका विचार बडाविचार ठहर्छन् ।

सानो, कमजोर, कान्छो र गरिब गोर्खा राज्यका राजाले अरू बलिया राज्यलाई मात्रै होइन मिरकासिम र अङ्ग्रेजजस्ता बलिया शक्तिको आक्रमणलाई समेत परास्त गर्दै बलियो एकीकृत नेपाल निर्माण गर्नु र टिकाउनु आफैंमा बडो काम थियो । अझ गोर्खाले जितेर त्यो जितलाई विशाल नेपालमा समर्पण र विलय आफैंमा विशाल मनका विशाल नेताको दृष्टान्त हो । त्यसैले सगौरव घोषणा गरौँ पृथ्वीनारायण बडानेता हुन्, पृथ्वीविचार बडोविचार हो ।

तसर्थ विचार, योगदान र कामका बडानेता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको लागि, नेपालको र नेपालीका गौरवको लागि राष्ट्रिय एकता र स्वतन्त्रताको सुदृढीकरणको लागि नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने निर्णय गर्नु र लागू गर्नुपर्छ । नोटमा बडानेताको महान् उक्ति ‘नेपाल सबै नेपालीको साझा फूलबारी हो’ लेखिनुपर्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई उपेक्षा गर्ने जोकोही पनि सच्चा देशभक्त नेपाली ठहर्दैन ।

बडानेता पृथ्वीनारायण शाह नेपाल राष्ट्रनिर्माता मात्र होइनन्, लोकतन्त्रको आधार निर्माता पनि हुन् । उनले आफूले चाहेका विराज बखतीलाई काजी बनाएनन् । बहुमत जनताले चाहेका कालु पाण्डेलाई काजी बनाएर राजा वा नेताको होइन, जनताको लोकतन्त्र त्यसैबैला शुरु गरिसकेका थिए । र, प्रधानमन्त्री हुने योग्यताका आधार पनि दिएका थिए । बहुमतको समर्थन प्राप्त बौद्धिक र छिमेकीलाई प्रभाव पार्न सक्ने कूटनीति क्षमता भएकोसमेत व्यक्ति । नेपाली लोकतन्त्र नायकलाई किन बडानेता नभन्ने ?

गहिरिएर खोजेको खण्डमा भारतीय स्वतन्त्रता सङ्ग्राममा महात्मा गान्धीले चलाएको चर्खा आन्दोलन पृथ्वीविचारको स्वदेशवादी विचारले निर्देशित छ । त्यस्तै, चीनमा माओको राष्ट्रिय पुँजीपतिको संरक्षण गरौँ भन्ने विचार पनि पृथ्वीनारायणको स्वदेशवादी आर्थिक नीतिले निर्देशित छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व खाद्य सङ्गठनले बडानेता पृथ्वीनारायण शाहको कृषियोग्य जमिन बस्तीले नढाकलाई कडा रूपमा विश्वव्यापी अभियान नचलाएमा केही दशकमा नै विश्वमा अनिकालको महामारी हुनेछ । यति दूरदर्शी नेतालाई बडानेता घोषणा गर्न केको आपत्ति ।

ससारभरि रङ्गभेदविरोधी होस् या जातीय समानताका आन्दोलन अथवा लैङ्गिक समानताका आन्दोलन वा वर्गीय मुक्तिका आन्दोलन ती सबै आन्दोलनको वैचारिक नेता पृथ्वीविचार हुन्छ । त्यहाँ सबै जातको फूलबारी छाएको हुन्छ । ‘अन्याय हुन नदिनू’ उदाएको हुन्छ । के नेल्सन मण्डेलाहरू, माक्र्स, माओहरू, लिङ्कनहरू सबै ‘सबैको फूलबारीको लागि लडेका होइनन् र ?’ संसारभरका सबै भ्रष्टाचारविरोधी आवाज र आन्दोलन ‘घुस दिन्या र लिन्या दुवैको धन जीव लियाको पनि पाप छैन, यी राज्यका शत्रु हुन्’ भन्ने भ्रष्ट र भ्रष्टाचारविरोधी पृथ्वीविचारको झन्डा बोकेर कुदेका होइनन् र ? आक्रमण गर्न नपाइने, आक्रमणकारीलाई धपाउन पाइने पृथ्वीविचारको अनाक्रमक परराष्ट्र नीति सर्वस्वीकार्य विश्वनीति होइन र ?

पृथ्वीविचारलाई जान्न र छान्न जान्नुपर्छ । सबै समस्याको समाधान त्यहीँ फेला पर्दछ । जनता बलियो भए राज्य, केन्द्र आफैं बलियो हुन्छ भन्ने पृथ्वीविचार साँच्चै बडानेताको बडोविचार होइन र ? आफ्ना नेपाली नेताको विचारको झन्डा उठाएर नेपाललाई ‘विचारको नेता’ बनाउनुपर्छ ।

पृथ्वीविचारलाई जान्न र छान्न जान्नुपर्छ । सबै समस्याको समाधान त्यहीँ फेला पर्दछ । जनता बलियो भए राज्य, केन्द्र आफैं बलियो हुन्छ भन्ने पृथ्वीविचार साँच्चै बडानेताको बडोविचार होइन र ? आफ्ना नेपाली नेताको विचारको झन्डा उठाएर नेपाललाई ‘विचारको नेता’ बनाउनुपर्छ । नेपाललाई विचारको नेता बनाउन पृथ्वीनारायण शाहलाई बडानेता घोषणा गर्नुपर्छ । बडानेताको बडाविचार, राष्ट्रिय एकता र समृद्धिको आधार मानेर साझा राष्ट्रिय बडापत्र निकाल्नुपर्छ । राष्ट्रिय बडापत्र साझा राष्ट्रिय घोषणापत्र हुनेछ । राष्ट्रिय चिन्तनधारको पृथ्वीविचार राष्ट्रिय एकता, समानता र समृद्धिको आधार हुनेछ । बडानेता घोषणा गर, बलियो नेपालको आधार तयार गर ।

भ्रम नहोस्, पृथ्वीनारायण शाह पुस २७ को न औपचारिकताको पात्र हो न उपेक्षाको नै । बरु यो त राष्ट्रिय स्वाधीनता, एकता र समृद्धिका लागि सधैँ आजको ताजा विचार हो । विचारको शक्ति हो, नेपालको शक्ति हो । नेपालको शक्ति भएर नै त दक्षिण एसियामा त्यसताकाको विश्वशक्ति अंग्रेज शक्तिलाई पराजित गर्ने नेपाल मात्र भएको छ । पृथ्वीनारायणले नेतृत्व गरेको नेपाल मात्र भएको छ । थितिबाट मुलुक चलाउन चाहने पृथ्वीनारायणको त्यसबेलाको विचार अहिलेको मुलुकमा संविधान बनाएर कानुनी राज्यको प्रत्याभूति दिने विचार हो । आज यसलाई ठीक ढङ्गले बुझ्न नसक्ने वा बुझ पचाउनेहरू नियतवश अराजकतालाई बढावा दिइरहेका छन् भने अर्कोतिर उनको सबैजातको फूलबारीलाई सबैजातको गमलाबारी बनाएर चकानाचुर बनाउने षड्यन्त्र गर्दै छन् ।

यी नेपाललाई हराउने तत्वहरू हुन् । यस्ता तत्वहरूको षड्यन्त्रलाई हराएर केवल नेपाललाई जिताउन बडानेता एवम् राष्ट्रनिर्माताका बडाविचारको वरिपरि सबै नेपाली जनता गोलबद्ध बनौँ । नेपाल जोगाउने र जगाउने राष्ट्रिय चिन्तनधारको पृथ्वीविचार राष्ट्रिय सहमतिको मूल आधार बन्दै सुखी समृद्ध नेपालको प्रत्याभूत गर्ने एक मात्र साझा राष्ट्रिय विचार हुन सक्छ भन्ने सबैमा चेतना भया ।

[email protected]