धर्म, राजनीति र समृद्धि !

128 Shares
  • दीपेन्द्र पाण्डे

धर्मले समाज र राज्य चलाउँदा राजनीतिले जन्म लिएकै थिएन । धर्मलाई समाज र राज्यबाट विस्थापन गर्न राजनीतिले खेलेको अराजनीतिक खेल धर्मका ठेकेदारले बुझ्नै सकेनन् । राजनीतिको दुश्चक्रबाट धर्मलाई बचाउनुपर्छ भन्दै राजनीति गर्नेहरूले राजनीतिको धर्म भुल्न जाँदा ‘धर्म’को महत्व अकस्मात् चुलिएको छ । धर्म र राजनीति कहिल्यै अलग हुन सक्दैन । धर्म र राजनीतिबीच आत्मा र शरीरको सम्बन्ध रहेको हुन्छ । धर्मलाई राजनीतिको मार्गदर्शकको रूपमा लिनुपर्छ भन्ने पछिल्लो मान्यता अर्थपूर्ण मानिँदै छ । मानवजाति सम्प्रदायबाट अलग रहन सक्छ, तर धर्मबाट टाढा रहन सक्दैन । वर्तमान वैश्य युगमा धर्मको दुरुपयोग गर्ने महामारी बढ्दो देखिन्छ । हिन्दू परिवारमा जन्मँदै सजिलो बाटोबाट भौतिक सुखसुविधामा रम्न चाहनेहरू धर्म परिवर्तनलाई धर्मको नाम दिन तम्सिएका छन् । लोकतन्त्र, समृद्धि र राजनीतिक धर्मको पुनर्स्थापना गर्न जनताको बलि दिनेहरू राजनीतिक र सनातन धर्म मास्दै ‘समृद्धि’ ल्याउन कस्सिँदै छन् ।

सामान्यतया धर्मको उपयोग राजनीतिमा गरिनु राम्रो मानिँदैन, तर वर्तमान अवस्थामा धर्मको राजनीति अनिवार्य र रणनीतिक बनिसकेको छ । धर्म र राजनीतिलाई एकसाथ मिसाउँदै विश्वभर अप्रत्यक्ष शासन गर्ने इसाई रणनीति मुलुकको निम्ति डरलाग्दो खतरा बनिसकेको छ । धर्मबारे सामान्य चर्चा गर्दा यो केवल जीवन जिउने बाटो मान्न सकिन्छ । मुलुकमा सदियौँदेखि स्थापित सनातन धर्मलाई ‘आयातीत ठेकेदार र स्वदेशी विभीषण’हरूले जालझेल गर्दै संबिधानमार्फत गरिएको खेलबाड जनताको इच्छाविपरीत थियो र छ भन्नासाथ समृद्धिविरोधी भन्दै प्रतिगामीको बिल्ला भिराइने तय गरिएको छ ।

जर्ज बर्नार्ड शा क्रिश्चियन थिए । उनले आफ्नो शरीरलाई मृत्युपछि अग्निमा समर्पित गर्न भनेका थिए । यसको अर्थ धर्म व्यक्तिको स्वतन्त्रतासँग गाँसिएको मान्न सकिन्छ । धर्मले मानिसलाई आसक्ति र अनासक्ति भावबाट बचाउन बाटो देखाउँछ । धर्मको अर्थ केवल नियम–कानुनमा बाँध्दै मानिसलाई शासन गर्नुसँग सम्बन्धित छैन, तर धर्मले धार्मिकता जगाउन सक्नु नै ‘मूल धर्म’ मानिन्छ । वैश्य युगको प्रभावमा परेको राजनीतिले कुर्सीको निम्ति कला, संस्कृति, भाषा, धर्म मात्र होइन भगवानलाई समेत कठघरामा उभ्याउन पछि नपरेको मुलुकमा सनातन धर्म र जनताले अधर्मीबाट अपहेलित, अपमानित जीवन जिउन बाध्य पारिँदै छ । फलस्वरूप सनातन धर्म मास्दै गरिएको भद्दा राजनीतीकरण अधर्मको ‘स्वर्गस्थल’ बन्दै छ ।

धर्म र जातिवादको नयाँ मुद्दा मुलुकमा भित्र्याउन सनातन धर्मलाई दोष दिने राजनीतिले नगद र कुर्सीलाई आफ्नो आत्मा बनाइसकेको छ । सस्तो शिक्षा, बेरोजगारी, स्वास्थ्य, बिजुली, पानीजस्ता विषयमा जनतालाई सत्ताको विरुद्ध खडा गर्दै केवल सत्तामा पुग्ने भऱ्याङ बनाउने कार्य अधर्मको पहिलो खुट्किलो बनाइएको छ ।

‘राजनीतिको धर्म’ या ‘धर्मको राजनीति’को काम सदाचार र प्रेममय बनाउनु र आममानिसको आवश्यकताको ध्यान दिँदै उनीहरूको हितमा काम गर्नु हो । जब मुलुकमा धर्म र राजनीति साथसाथ चल्दैन, तब भ्रष्ट राजनीतिज्ञ र कपटी धार्मिक नेताको बिगबिगी हुन्छ । स्नेही, सदाचारी र धार्मिक व्यक्ति जनताको हितलाई ध्यान दिन्छन् । सच्चा राजनीतिज्ञ केवल सदाचारी र स्नेही मात्र हुन सक्छ । तसर्थ, यस्तो व्यक्ति धार्मिक हुनैपर्छ । परन्तु, राजनीतिज्ञ यति धेरै धार्मिक बन्नुहुँदैन । जसले सनातन धर्म र मुलुकको भविष्य दाउमा लगाओस् । राजनीति र धर्म मात्र यस्तो विषय हो जसले हरवर्गका मनिसको जीवन प्रभावित गर्न सक्छन् । धर्मको राजनीति र राजनीतिको धर्मको बारेमा उठेका तमाम सवाल, आरोप–प्रत्यारोप तत्काल हटाउन राजनीतिको ‘दशा र दिशा’ बदल्न अनिवार्य बन्दै छ ।

आफ्नो धर्म भुलेको शीर्ष नेतृत्वको कब्जामा परेको मुलुक र लोकतन्त्र राजनीतिमा विचित्रको नजिर खडा गर्दै छ । धर्म र जातिवादको नयाँ मुद्दा मुलुकमा भित्र्याउन सनातन धर्मलाई दोष दिने राजनीतिले नगद र कुर्सीलाई आफ्नो आत्मा बनाइसकेको छ । सस्तो शिक्षा, बेरोजगारी, स्वास्थ्य, बिजुली, पानीजस्ता विषयमा जनतालाई सत्ताको विरुद्ध खडा गर्दै केवल सत्तामा पुग्ने भऱ्याङ बनाउने कार्य अधर्मको पहिलो खुट्किलो बनाइएको छ । सामाजिक, सांस्कृतिक र मानवताले भरिपूर्ण सनातन धर्मले मुलुकवासीलाई पुऱ्याएको योगदानप्रति आँखा चिम्लँदै विकास, शान्ति, स्थिरता र समृद्धिको बाधक देखाउँदै गरिएको भद्दा राजनीतिको कारण मुलुकको अस्तित्व खतरामा पर्दै गरेको सुन्न र देख्न चाहँदैन । ‘आयातीत’ कमजोरीलाई छोप्न सनातन धर्मको बदनाम गर्ने र पितापुर्खाको योगदान, परम्परा, संस्कृति र धर्मलाई बेच्दै पेट पाल्ने वर्तमान राजनीति कति गरिब छ ? आममानिस विस्तारै बुझ्दै छन् । मानवताको प्रवचन दिने र इमानदारिता बेच्ने राजनीतिक नेतृत्वले सनातन धर्म बेच्दै कमाउँदा झनै दरिद्र बन्दै छन् ।

राज्यको धर्म हुँदैन भन्दै आफ्ना पितापुर्खाको धर्म बेच्दै मुलुकको परम्परा, संस्कृति र नैतिकता बेच्नेहरूले प्राप्त गरेको राजनीतिक सफलता समृद्धिको बाधक बन्दै छ । राज्यको धर्म नहुने होइन वल्कि धर्म बेच्दै कुर्सी ताक्नेहरूको इमान र धर्म नहुने खुलेपछि तिल्मिलाएका अराजनीतिक कुर्सीवाजहरू कुर्सी जोगाउन फेरि धर्मको राजनीति गर्दै छन् । ०६८ को जनगणनाअनुसार हिन्दू ८१.३ प्रतिशत, बुद्धिष्ट ९ प्रतिशत, इस्लाम ४.४ प्रतिशत, किरात ३ प्रतिशत, क्रिश्चियन १.४ प्रतिशत र अन्य ०.९ प्रतिशत नागरिक मुलुकभित्र बसोवास गर्छन् । कुल जनसङ्ख्याको झन्डै ९५ प्रतिशत ॐकार परिवारका जनताले जोगाएको धर्म, संस्कृति, भाषा, परम्परालाई समाप्त गर्न मरिहत्ते गरेबापत प्राप्त सिंहदरबारको कुर्सीले खोजेको समृद्धि नबुझ्ने विषय हो र ? विश्वका १४५ देशले राज्यको धर्म बनाउन हुने, फगत नगद र कुर्सीको निम्ति राज्यको धर्म मास्नेहरूले मुलुकमा समृद्धि ल्याउने कल्पना कुन जगमा बसेर गर्न सकिन्छ ? आफ्नो धर्मलाई अफिमको नसा देख्ने, इसाईको धर्मलाई आफ्नो जीवनको कायाकल्प नै देख्ने कुर्सीवाजहरू सङ्घीय लोकतन्त्रमा पर्यटनमार्फत समृद्धि ल्याउने गफ बेचेकै छन् । यहुदीले जेरुसलम, मुसलमानले मक्कामदिना, इसाईले भ्याटिकनसिटीमार्फत बटुलेको समृद्धि नेपालमा पशुपतिनाथ बनाउन तयार नहुने विचित्र स्थितिपछि उनीहरूको नियत, हैसियत र लक्ष्य एकसाथ प्रकट हुँदै छ ।

मिल्ने भए आजका नेतृत्व वर्गले धमिजा, लाउडा, चेजएयर, नक्कली भ्याट बिल, सुडान घोटाला, एनसेल काण्डदेखि वाइडबडीसम्मका घोटालाहरू सनातन धर्मकै थाप्लोमा हाल्ने थिए । आफ्ना अन्तरनिहित कमीकमजोरीको दोष धर्म र तन्त्रको नाममा थोपर्दै विकास र समृद्धि खोज्न तम्सिएको सिंहदरबार सनातन धर्म र जनताको तागत बुझेर पनि बुझ पचाउँदै छ ।

विश्वभर अपनाइएका तमाम धर्मले विकास, शान्ति, स्थिरता र समृद्धिको निम्ति बाधक नबन्ने धर्मको धार्मिकताभित्र पर्ने कुरा नै हो । आफ्ना इमान र नैतिकतालाई बेच्नु नै धर्म सम्झने राजनीतिको कारण सिर्जित समस्या नै समृद्धिको बाधक हो भन्ने किटान गर्न सकिन्छ । बेलायत, क्यानडा, अमेरिकाजस्ता मुलुकले धर्मलाई बोक्न हुने, इजरायल धर्मकै आधारमा जन्माउन हुने, विश्वका पुराना देशमध्येमा पर्ने नेपालमा विश्वकै सनातन धर्मलाई विकासको दुश्मन देखाउनुको भित्री खेल कसले र किन खेल्दै छन् ? आमजनताले नबुझेसम्म मुलुकमा समृद्धि र स्थिरताको नाराले राजनीतिमा स्थान जमाइराख्नेछ । बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, सनातन हिन्दूराष्ट्र नेपालमा रणनीतिक ढङ्गबाट मच्चाइएको इसाई आतङ्क नेपाल र नेपाली जनताको हितमा छँदै छैन । जातीयता, क्षेत्रीयता र धर्मनिरपेक्षताको दीर्घकालीन रोग अधर्मीहरूले नेपाली समाजमा घोल्न सफल भइसकेको वर्तमान समयमा आयातीत धर्मका सबै आयातकर्ता र ठेकेदारहरूलाई यथास्थानमा पु¥याउन नसकेसम्म समृद्धि केवल मीठो कल्पनासिवाय केही हुनेछैन ।

प्रजातन्त्रदेखि गणतन्त्रसम्म राजनीतिक नेतृत्वले गरेको तमाम बदमासीहरू सनातन धर्मको थाप्लोमा हाल्दै खोजिएको समृद्धि जनताको निम्ति थिएन, होइन भन्ने प्रस्ट हुँदै छ । मिल्ने भए आजका नेतृत्व वर्गले धमिजा, लाउडा, चेजएयर, नक्कली भ्याट बिल, सुडान घोटाला, एनसेल काण्डदेखि वाइडबडीसम्मका घोटालाहरू सनातन धर्मकै थाप्लोमा हाल्ने थिए । आफ्ना अन्तरनिहित कमीकमजोरीको दोष धर्म र तन्त्रको नाममा थोपर्दै विकास र समृद्धि खोज्न तम्सिएको सिंहदरबार सनातन धर्म र जनताको तागत बुझेर पनि बुझ पचाउँदै छ । सपनामा समेत समृद्धि भन्दै बर्बराउने राजनीति तत्काल इसाई मोहबाट मुक्त हुनु जरुरी देखिन्छ । सनातन धर्मकै बलमा नेपाललाई विश्वभर चिनाउन सफल संस्कृति, परम्परा, भाषा, चाडपर्व भुल्दै कसैको निम्ति प्रयोग हुनुको सट्टा आफ्ना मौलिकता र सनातन धर्मलाई समृद्धि प्राप्तिको साधन बनाउनु बुद्धिमानी हुनेछ ।

यो पनि हेर्नुहोस् –

लाज जोगाउने नाङ्गो प्रयास !
http://www.ghatanarabichar.com/128300

128 Shares

प्रतिक्रिया