खतरनाक घेराबन्दीमा ओली

खतरनाक घेराबन्दीमा ओली


सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली काम देखाउने तत्परता लिँदै छन्, यति नै बेला प्रधानमन्त्री ओलीविरुद्ध सूक्ष्म घेराबन्दी शुरु भएको छ । देखिने गरी सरकारको पक्षमा बोल्ने, तर भित्रभित्रै ओलीलाई घेराबन्दीमा पार्ने योजना उनको आफ्नै दल नेकपाभित्र बनेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

वरिष्ठ नेता वामदेव गौतम खुलेआम केपीविरुद्ध सक्रिय भएका छन् भने झलनाथ खनाल शालीनतापूर्वक घेराबन्दीको निर्माणमा लागेको पाइएको छ । केही समययता प्रचण्ड केपीसँग ‘मित्रता’ बढाउँदै सरकारको रक्षा गर्न कस्सिएर लागेका देखिन्छन् । तर, उनी पनि पर्दापछाडि केपीविरुद्धको घेराबन्दी निर्माणमा लागिपरेका छन् । हुँदाहुँदा माधवकुमार नेपालसमेत सरकारको पक्षमा बोल्दै केपीलाई विस्थापित गर्ने योजनामा रहेको पाइएको छ ।

यतिखेर नेकपाभित्र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसाललगायतका नेताहरू यथाशीघ्र केपीलाई सरकारबाट हटाउने गृहकार्यमा जुटेका छन् । संसदीय दलमा बहुमत जुट्नेबित्तिकै संसदीय दलको नेता पदबाट ओलीलाई विस्थापित गरेर अघि बढ्ने योजनाका साथ उल्लिखित नेताहरू क्रियाशील भएका छन् । कतिपय मन्त्रीहरूसमेत ओलीविरुद्ध भएको र सरकारले वर्ष दिन पूरा गरेपछि नेतृत्व बदल्ने तत्परता लिन लागेको बुझिएको छ । यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनको आफ्नै दलभित्र घेराबन्दी शुरु भइरहँदा दुवैतर्फका छिमेकी मुलुकहरूसँगको सम्बन्धमा पनि असन्तुलनको अवस्था पैदा भएको छ ।

एसिया प्यासिफिक (इसाई) सम्मेलनमा सरकारको सहभागिता र इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा जाने तत्परतापछि भारत र चीन दुवै मुलुकहरू केपीप्रति सशङ्कित भएको बताइन्छ । ओलीविरुद्ध योजनाबद्ध घेराबन्दी शुरु भइसकेकोले वर्तमान सरकारले तीनदेखि ६ महिनाभित्रै ‘बिदा पाउने’ अनुमान विश्लेषकहरुले गरेका छन् ।