हिजो यसैमा गर्व, आज किन पन्छिए रवीन्द्र ?

हिजो यसैमा गर्व, आज किन पन्छिए रवीन्द्र ?


‘रवीन्द्र अधिकारीले वाइडबडी विमान ल्याए, अब नेवानिको कायापलट हुन्छ’ भनेर कतिपयले चर्चा गरिदिँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारी मसक्क मुस्कानका साथ मख्ख–भाव प्रस्तुत गर्थे । उनको भावभङ्गिमा नियाल्दा प्रस्टै अनुभूति हुन्थ्यो कि ‘वाइडबडी’ उनकै प्रतापका कारण नेपाल अवतरण गर्न सम्भव भएको हो, यो ‘उपलब्धि’मा अन्य कसैले दाबी पेस गर्न मिल्दैन । उनको मुस्कान देखेर दर्शक अर्थात् आमजनता साँच्चै देश मुहार फेरिने बाटोमा लागेछ भन्ने भावले दङ्ग पर्थे ।

तर, अचानक समय पल्टिएको छ । वाइडबडी जहाज भित्र्याएर ठूलो उपलब्धि हासिल गरेको दाबी गर्ने रवीन्द्र अधिकारी यतिबेला ‘वाइडबडी मैले ल्याएको होइन’ भनी मुख मोड्दै छन् । सरोकारवाला ‘पूर्ववर्ती’हरूले गरेको कामको दोष आफूमाथि किन लगाइँदै छ ? भन्ने उनको अरण्यरोदन छ । एकातिर अनियमितताको खेल पहिले नै खेलिएको उनको दाबी छ भने सँगसँगै उनी ‘आफूले त तिर्न बाँकी रकम निकासाको बाटो खुलाइदिएको मात्र’ बताइरहेका छन् । हिजोसम्म विमान खरिद गरेकोमा गौरव मान्ने अनि नागरिक तहबाट तारिफको अभीष्ट पाल्ने मन्त्री आखिर किन यसरी ‘वाइडबडी’को नाम सुन्दै तर्सिने–तर्किने अवस्थामा पुगे त ? यतिबेला यो आमजिज्ञासाको सन्दर्भ बन्न पुगेको छ ।

‘वाइडबडी’ जहाज खरिदमा भएको अनियमितता मुलुकको इतिहासमै सर्वाधिक ठूलामध्येको एक भ्रष्टाचार प्रकरणको रूपमा चित्रित हुन पुगेको छ । आमचर्चामा आएअनुसार ६ अर्ब र संसद्को लेखा समितिद्वारा गरिएको छानबिन प्रतिवेदनले ४ अर्ब पैँतीस करोड भनी किटान गरेको आर्थिक अनियमितताको आयतनका आधारमा पक्कै पनि यो एक विकराल–काण्ड हो । नेपालको शासन–प्रशासन र मूलतः राजनीतिक नेतृत्व नीतिगत तवरमै भ्रष्टाचार गर्न कुन हदसम्म उद्यत् रहेछन् भन्ने एउटा ज्वलन्त र ताजा प्रमाण पनि हो यो । यस आकारको भ्रष्टाचारको मामला सत्तासीन दलकै सांसदसहितको छानबिन समितिबाट उजागर हुँदै गर्दा तालुकवाल मन्त्रीबाट पानीमाथि ओभानो बन्ने नग्न प्रयत्न गरिनु, अनियमिततामा मुछिएका कर्मचारी एवम् राजनीतिकर्मीमध्ये छानी–छानी कसैलाई चोख्याउन हात धोएर लागिपर्ने र कसैलाई जबर्जस्ती ‘डामेर’ छोड्ने चेष्टामा राज्य वा सरकार गम्भीर भएर लागिपरेको देखिनु अत्यन्त विडम्बनाको विषय हो ।

जनताको नजरबाट गिरिसकेपछि पनि लिसो बनी मन्त्री ओहोदामा झुन्डिएर अब के लाभ हासिल हुने हो– यो त मन्त्री रवीन्द्र नै जान्दछन्, तर आफू भ्रष्टाचार नगर्ने अनि अरूले गरेको पनि नसहने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत यसरी ‘दागी’ बन्न पुगेका मन्त्रीलाई क्याबिनेटबाट बिदा गर्न किन चुकिरहेका छन् ? ओलीबाट समृद्ध नेपाल र सुखी नेपालीको आस गर्नेहरू यसबाट विस्मित हुन पुगेका छन् ।

निश्चय पनि विमान खरिद मामलामा यो मुलुकमा भएको यो नै पहिलो भ्रष्टाचार होइन । विगतका शासकहरूबाट पनि यही प्रकृतिका अनियमितताका खेल खेलेका सुन्दै–बुझ्दै आएकै हो । विगतमा लाउडा र धमिजा काण्ड भनी चर्चित प्रकरणहरूमा विरोधको स्वर उरालेर सडक तताउने जमातको अगुवाइ गर्दै आज मन्त्री ओहोदामा पुगेका पात्रहरू नै लाउडा–धमिजाभन्दा कता हो कता ‘वाइड’ आकारको भ्रष्टाचारमा संलग्न रहेको तथ्य उजागर हुन थाल्नु विडम्बना मात्र नभई नेपाल र नेपालीजनका निम्ति लज्जाको पराकाष्टा पनि हो ।

वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचारमा नाम मुछिएपछि धेरैले आशा गरेका युवा नेताको रूपमा चर्चामा रहेका तालुकवाला मन्त्री रवीन्द्र अधिकारीले नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा दिई छानबिनको बाटो अझ सहज तुल्याइदिनेछन् भन्ने आशा सर्वत्र गरिएको थियो । तर, उनले नैतिकताको त्यो हिम्मत जुटाउन सकेनन्, उल्टै उनी रुन्चे स्वरमा ‘आफूले एक रुपैयाँ लाभ नलिएको, लिएको प्रमाणित भए राजनीतिबाट सन्न्यास लिने’ हास्यास्पद जिकिर गरिरहेका छन् । जनताको नजरबाट गिरिसकेपछि पनि लिसो बनी मन्त्री ओहोदामा झुन्डिएर अब के लाभ हासिल हुने हो– यो त मन्त्री रवीन्द्र नै जान्दछन्, तर आफू भ्रष्टाचार नगर्ने अनि अरूले गरेको पनि नसहने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत यसरी ‘दागी’ बन्न पुगेका मन्त्रीलाई क्याबिनेटबाट बिदा गर्न किन चुकिरहेका छन् ? ओलीबाट समृद्ध नेपाल र सुखी नेपालीको आस गर्नेहरू यसबाट विस्मित हुन पुगेका छन् ।

यस मामलामा प्रमुख प्रतिपक्षी दलको शीर्ष नेतृत्वले दर्शाएको रवैया पनि अर्को एक उदेकको पाटो हो । उक्त दलका कतिपय नेताले व्यक्तिगत तवरमा विरोध जनाए पनि काङ्ग्रेसको आधिकारिक धारणा नै ठोस रूपमा सार्वजनिक हुने आमअपेक्षा थियो । तर, सरकारको कदमलाई नै बल पुग्ने गरी ‘सम्झौता’ गर्न पुगेको छ काङ्ग्रेस नेतृत्वले । संसदीय उपसमितिको छानबिन प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउन दबाब दिनुको साटो कथित उच्चस्तरीय आयोग गठनमा बल पुऱ्याएर काङ्ग्रेसले कुनै न कुनै रूपमा आफूलाई पनि बिटुल्याउन पुगेको छ ।

यसरी मुलुक नै टाट पल्टाउने आकार–प्रकारका भ्रष्टाचार प्रकरणसमेत दिउँसै रात पारेर सामसुम तुल्याउने प्रयत्न जोडतोडका साथ आरम्भ भएको घामजत्तिकै छर्लङ्ग छ । जनताको आफ्नो शासन भनिने ‘गणतन्त्र’मा नागरिकले कहाँसम्म यो बर्दास्त गर्लान्, प्रतीक्षा गर्नुको विकल्प देखिँदैन ।

 

यो पनि हेर्नुहोस्-

कारबाहीमा पर्नबाट जोगिन नेताहरूबीच ‘राष्ट्रिय सहमति’ !
https://www.ghatanarabichar.com/132808