आफैँ गुमनाम बसेको गायिकाको बयान

आफैँ गुमनाम बसेको गायिकाको बयान


लोकगीतप्रेमीको लागि विष्णु माझी मनको धुकधुकी नै हुन् । उनको अत्यन्त सुरिलो र कर्णप्रिय लोकगीतहरू सुनेर लट्ठ पर्ने स्रोता करोडौँ छन् । यति लोकप्रिय गायिका सार्वजनिक स्थलमा भने कतै भेटिन्नन् । यो विषयले गत साता निकै चर्चा बटुल्यो, जब जिल्ला प्रशासन स्याङ्जाबाट विष्णुका श्रीमानको रूपमा आफूलाई चिनाउने सुन्दरमणि अधिकारीलाई पत्नीसहित हाजिर हुन आदेश जारी गरियो ।

मिडियामा पटक्कै आउन नरुचाउने लोकगायिका विष्णु माझीको यसरी खोजी भएपछि सुन्दरमणि अधिकारी श्रीमती विष्णुलाई साथ लिएर स्याङ्जा प्रशासन पुगेका छन् । पति अधिकारीले नै गायिकालाई स्वार्थवश बन्धक बनाएको हुन सक्ने अनुमानका आधारमा प्रशासनले समेत खोजी गर्नु आवश्यक ठानेको थियो ।

प्रशासनको भेटमा गायिका माझीले अनुमानविपरीतको बयान दिएकी बुझिएको छ । श्रीमान्ले बन्धक बनाएर आार्थिक दोहन गरिरहेको भन्ने खालका बयान आउने सम्भवतः धेरैको अनुमान थियो । तर, ठीक विपरीत विष्णुले आफ्नो इच्छानुसार नै सार्वजनिक रूपमा उपलब्ध नभएको अभिव्यक्ति दिइन् । आफूले धेरै पढलेख नगरेका कारण पति सुन्दरमणिको सहारामा रमाइरहेको उनको भनाइ थियो । विदेशबाट धेरैले कार्यक्रममा बोलाए पनि कम पढेको र विष्णुलाई मात्र लैजाने अफर गर्ने गरेकाले विष्णुलाई असहज हुने र आफूलाई पनि सँगै लैजानका लागि अनुरोध गर्दा आयोजकहरूले इन्कार गर्ने गरेकाले विष्णुलाई पनि नपठाएको अधिकारीले बताएका थिए । यसमा विष्णुको पनि स्वीकृति रहेको दाबी गरिएको थियो । अन्तरजातीय बिहे गरेका कारण गुमनाम बस्नुपरेकोजस्ता बयान पनि माझीदम्पतीबाट दिइएको बताइन्छ ।

ट्याक्सी रिजर्भ गरेर उनीहरू स्याङ्जा प्रशासन पुग्दा गायिका माझीले मास्क लगाएर अनुहार छोपेकी थिइन् । प्रशासनका अधिकारीसमक्ष सुन्दरमणिले यसरी विष्णु सार्वजनिक नहुनुको खास रहस्य या उद्देश्य पनि रहेको, तर अहिले नै सार्वजनिक नगर्ने पनि खुलासा गरेको बुझिएको छ । त्यो कस्तो उद्देश्य हो, थप जिज्ञासाको विषय बनेको छ । सुन्दरमणिसँग बिहेपछि सार्वजनिक रूपमा भेटिन छोडेकी विष्णुको ११ वर्षमा आफ्नो बुबासँग भेट भएको हो ।

उनीहरूको साथमा विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि प्रशासनमा पुगेका थिए । सायद यसरी सबैलाई साथ लैजाँदा आफूमाथिको आशङ्का स्वतः विश्वासमा बदलिने सुन्दरमणिको सोचले काम गरेको हुनुपर्छ ।