जनतालाई दुःख दिएर सरकार सुविधाभोगी भयो : नेता भण्डारी

जनतालाई दुःख दिएर सरकार सुविधाभोगी भयो : नेता भण्डारी


रमेश विश्वकर्मा, गुल्मी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले जनतालाई महँगी र करको भार बढाई जनतालाई दुःख दिएर सरकार आफु ज्यादै सुविधाभोगी भएको आरोप लगाएका छन् ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. १ हुँगास्थित श्री झेर्दी निम्नमाध्यमिक विद्यालयले आफ्नो ५०औं वर्षको अवसरमा मंगलबार आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

कसैले पार्टीको रसिद देखाएर वा कसैको नाममा भष्ट्राचार गर्छ भने त्यस्तालाई छाड्नु हुन्न भन्दै उनले पछिल्लो समय देशमा भष्ट्राचारी, दलाली र अनैतिक क्रियाकलाप गर्ने व्यक्तिलाई सरकारले संरक्षण गरेको आरोप लगाए । सरकारले जनतालाई दुःख दिएर आफु मोजमस्तीमा रमाएको तर्क गरे ।

विद्यालय वा शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने उनको भनाई थियो । उनले राजनीतिक दलका आधारमा कुनै अयोग्य शिक्षकलाई विद्यालयमा भर्ना गरिएको र अनावश्यक सुविधा प्रदान गरेको भए त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याउने चेतावनी पनि दिए ।

आफु नेपाली कांग्रेसको नेता भए पनि विकास निर्माणका काममा राजनीतिक कुरा नमिसाई सबैलाई समान दृष्टिकोणले हेर्नेगरेको जानकारी दिँदै अन्य राजनीतिक दलका नेताहरुलाई पनि विकास निर्माणका काम गर्दा राजनीतिक आग्रह नराखी व्यवहार गर्न सुझाव दिए ।