नेपाली बन्न नपाएपछि श्रेया फर्किइन् अमेरिका

1.9K Shares

नेपाली बन्न गरेको अनेकौँ प्रयास सफल हुन नसकेपछि श्रेया शाह अमेरिका फर्किएकी छिन् । अमेरिकाको ग्रिनकार्ड भएर पनि नेपालकै नागरिक भएर बाँच्ने इच्छाबाट प्रेरित श्रेया गत वर्ष नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नेपाल आएकी थिइन् । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह र जया शाहकी छोरी श्रेया गत वर्ष नेपाल आएर एक वर्षदेखि नागरिकता प्राप्त गर्न प्रयासरत थिइन् ।

वडा कार्यालयदेखि नगरपालिकासम्म र विभिन्न सङ्घसंस्था एवम् मिडियासम्म पुग्दा पनि उनले नागरिकता पाउन सकिनन् । आफ्ना बाबु धीरेन्द्र शाह भएको अस्पतालमा जन्मँदाको कागजपत्रदेखि स्कुलमा भर्ना गर्दासम्मका कागजपत्र साक्षी हुँदा पनि नागरिकताका लागि सम्बद्ध वडा कार्यालयले ‘बाबुलाई जीवित उभ्याउनुपर्ने’ सर्त तेर्स्याएको थियो ।

विगत लामो समयदेखि आमासँग अमेरिका बस्दै आएकी श्रेयाको ग्रिनकार्ड भए पनि उनी नेपाली नागरिक नै रहन चाहन्थिन्, चाहन्छिन् । एक वर्षसम्मको न्यायिक लडाइँ उनका लागि निकै कठिन रह्यो । अन्ततः ग्रिनकार्डवालाले एक वर्षका बीचमा फर्कनुपर्ने परिस्थितिमा अमेरिकन राजदूतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि उनी अमेरिका फर्कन पाएकी हुन् ।

नागरिकता र पासपोर्ट बनाएर एक साताजतिमा फर्किहाल्ने भनी आफू कार्यरत निकायबाट छोटो छुट्टी लिएर आएकी उनी नागरिकताबिना पासपोर्ट नबन्ने र पासपोर्टबिना यात्रा गर्न नमिल्ने भएर रोकिएकी थिइन् । आश्चर्य त के छ भने एउटा नेपालीलाई आफ्नै देशले नागरिकताबाट वञ्चित गरे पनि उनले केही समय बिताएको देश अमेरिकाले भने आफ्नो मुलुकको नागरिकता नलिई ग्रिनकार्ड मात्र लिएकी श्रेयालाई अमेरिका फर्काएको छ ।

आफू नेपाली नागरिक हुनुको अर्थमा नेपाली नागरिकता लिएरै छोड्ने अठोटमा रहेर सम्बन्धित विभिन्न निकायहरूमा पुग्दा निराशा मात्र भोगेकी श्रेयालाई अन्तिम अवस्थामा अमेरिकी दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो । ग्रिनकार्डवालाहरूले एक वर्षभित्र अमेरिका छिर्नुपर्ने नियम भए पनि उनले अमेरिकाको भूमि टेक्दा एक वर्ष एक दिन भएको थियो । अमेरिकी अध्यागमनले उनको विशेष अवस्थालाई स्वीकार गरी अमेरिका प्रवेशको अनुमति दिएको थियो । श्रेयाले नेपाली नागरिक हुन खोज्दा आफू थकित भए पनि न्यायको लडाइँ निरन्तर लडिरहने र नेपाली भएरै बाँच्ने र मर्ने बताएकी छिन् ।

यो पनि हेर्नुहोस्-

धीरेन्द्रलाई अगाडि उभ्याए मात्रै छोरीले नागरिकता पाउने !
वडाध्यक्षले दिए सुन्नै नसकिने जवाफ

http://www.ghatanarabichar.com/98737

1.9K Shares

प्रतिक्रिया