एक सय असी मिनेटमै प्रतिशोध !

एक सय असी मिनेटमै प्रतिशोध !


गत साता भएको एक घटनाले कम्युनिस्ट सरकार आलोचक या विरोधीहरूसँग प्रतिशोध लिन कुन हदसम्म हतार गर्छ भन्ने उदाहरण दिएको छ ।

गत साता मंगलबार (पुस १७ गते) प्रतिनिधिसभाको चालू बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले ‘वाइडबडी’ जहाज खरिदमा कसरी भ्रष्टाचार भयो भन्ने धारणा सबुतसहित प्रस्तुत गरेका थिए । उक्त भ्रष्टाचारमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको आशङ्का पनि सांसद सिंहले बोल्ने क्रममा गरेका थिए । अमरेशको अभिव्यक्तिले संसदभित्र र बाहिर पनि सनसनी मच्चायो ।

मध्याह्न साढे बाह्र बजे ‘वाइडबडी’ खरिदमा भ्रष्टाचार भएको बताएर उनी संसद्बाट बाहिरिएका थिए । संसद्बाट निस्किएर अमरेश एक राजनीतिक दलका वरिष्ठ नेतासँग गोप्य बैठकमा सहभागी भएका थिए ।

यसरी बैठक गरिरहेका बेला संसद्मा बोलेको ठीक एक सय असी मिनेटपछि त्यहाँ उनका सुरक्षाकर्मीलाई जरुरी आदेश आयो, ‘अमरेश जहाँँ जुन अवस्थामा छन् सोही अवस्थामा छोडेर तीस मिनेटभित्र प्रहरी प्रधान कार्यालयमा फर्कनू ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएका सुरक्षाकर्मीले सांसद अमरेशलाई माथिबाट आएको आदेशबारे जानकारी गराए ।

त्यसपछि अमरेशले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई फोन गरी के भएको हो भनेर जिज्ञाशा राख्दा उनीहरूले माथिको आदेश भएको जानकारी गराएका थिए । त्यसपछि तत्काल सुरक्षाकर्मीहरू त्यहाँबाट आ–आफ्ना कार्यालयतिर फिर्ता भए ।

संसदमा वाइडबडी भ्रष्टाचारको मुद्दा उठाएपछि गृहसचिव प्रेमकुमार राईले सशस्त्र र नेपाल प्रहरीप्रमुखहरूलाई आफ्नो कार्यकक्षमै बोलाएर तीस मिनेटभित्रै अमरेशको सुरक्षाकर्मी झिकिदिनु भन्ने आदेश दिएका थिए ।

अमरेशकुमार सिंहले १२बुँदे सम्झौता र त्यसयताका संवेदनशील एवम् महत्वपूर्ण राजनीतिक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आएका छन् । विशिष्ट एवम् संवेदनशील भूमिकाका कारण सुरक्षा चुनौती हुन सक्ने भन्दै ०६३ को राजनीतिक परिवर्तनलगत्तै सरकारले उनको सुरक्षा व्यवस्था गरेको थियो र त्यसपछिका हरेक सरकारहरूले सुरक्षालाई निरन्तरता दिँदै आएका थिए ।

संसदमा वाइडबडी भ्रष्टाचारको मुद्दा उठाएपछि गृहसचिव प्रेमकुमार राईले सशस्त्र र नेपाल प्रहरीप्रमुखहरूलाई आफ्नो कार्यकक्षमै बोलाएर तीस मिनेटभित्रै अमरेशको सुरक्षाकर्मी झिकिदिनु भन्ने आदेश दिएका थिए । राईलाई गृहमन्त्रीको आदेश थियो या प्रधानमन्त्रीको भन्ने स्पष्ट हुन सकेको छैन, तर सचिव राईले माथिको आदेश भन्दै तत्काल कार्यान्वयन गर्न प्रहरीप्रमुखहरूलाई आदेश दिएका थिए ।

यसरी सुरक्षाकर्मी फिर्ता गरिएपछि प्रधानमन्त्री केपी ओलीले सभामुख कृष्णबहादुर महरासँग ‘अमरेश बढी भएको थियो, उसलाई ठेगान लगाइयो’ भनी प्रतिक्रिया दिनुले प्रधानमन्त्रीकै आदेशमा अमरेशको सुरक्षा–व्यवस्था हटाइएको स्पष्ट गरेको छ । सुरक्षाकर्मी हटाएको एक सातापछि मंगलबार (पुस २४ गते) अमरेशकुमार सिंह भारतको राजधानी नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् ।