कांग्रेसको अडान यथावत, छाया सरकार बनाउने

कांग्रेसको अडान यथावत, छाया सरकार बनाउने


मुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ ।

काङ्ग्रेस संसदीय दलको मंगलबारको बैठकले प्रतिनिधिसभाको गत आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसदमाा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ । बैठकले आइतबार जुन प्रक्रियादेखि बैठक अन्त्य गरिएको हो त्यहीँबाट प्रतिनिधिसभाका आगामी बैठक आरम्भ हुनुपर्ने माग गरेको काङ्ग्रेस सचेतक पुष्पा भुसालले बताएकी छिन् ।

दलका प्रमुख सचेतक बालकृष्ण खाणले बैठकमा आइतबारको घटनाका सम्बन्धमा विस्तृत जानकारी गराएका थिए । काङ्ग्रेसले प्रतिनिधिसभा नियमावलीअनुसार सवाल–जवाफ गर्न नपाएको भन्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेको थियो । काङ्ग्रेसको अवरोधका बाबजुद सभामुखले संसद् बैठक प्रक्रिया अघि बढाएका थिए ।

साथै दलको बैठकले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने र सांसदलाई विषयगत जिम्मेवारी तोक्ने समेत निर्णय गरेको छ । बैठकमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारका कमीकमजोरी र जनचासोका विषयमा खबरदारी गरिरहन निर्देशन दिएका थिए ।