राष्ट्रिय मुद्दामा प्रतिपक्षसँग सहकार्य गर्न सत्तापक्ष तयार : प्रचण्ड

राष्ट्रिय मुद्दामा प्रतिपक्षसँग सहकार्य गर्न सत्तापक्ष तयार : प्रचण्ड


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण र पुनर्निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन् ।

पुनर्निर्माण जिल्ला समन्वय समिति चितवनको बैठकमा आज (मंगलबार) यहाँ बोल्दै विकास निर्माणमा सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै प्रचण्डले भने, ‘तपाईंहरू के नठान्नुहोला भने माथि खिचातानी छ कि भन्ने, तर त्यसो होइन ।’

सो अवसरमा उनले भने, ‘राष्ट्रिय मुद्दामा मिलेर काम गर्नेबारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, मलगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।’ जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनर्निर्माण र विकासका मुद्दामा छलफल गर्न उनले सुझाव दिए । अध्यक्ष दाहालले भूकम्पप्रभावितलाई ऐलानी र वनको जग्गामा पुनर्निर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनर्निर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको उल्लेख गरे । दुई वर्षपछि प्राधिकरण नहुने भन्दै यसले हासिल गरेका अनुभवलाई स्थानीय तहमा पुऱ्याउन लागिएको उनले बताए । पुनर्निर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने उनको भनाइ थियो ।

सांसद कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य घनश्याम दाहाल, रामलाल महतो, रिना गुरुङ, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ, रत्ननगर नगरपालिका उपप्रमुख विमला दुवाडीलगायतले बोलेका थिए । सो अवसरमा जिल्लाका एक महानगरपालिका, चार नगरपालिका र एक गाउँपालिकाका प्रमुख एवं उपप्रमुखसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट सम्झौता गरिएको थियो । सम्झौतामा स्थानीय तह र प्राधिकरणले गर्ने कामका विषयमा ११बुँदे समझदारी गरिएको छ ।

बैठकमा हालसम्म प्राधिकरणले जिल्लामा गरेका कामका विषयमा प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुली र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भरतपुरका आयोजना व्यवस्थापक पुष्करप्रसाद पोखरेलले प्रकाश पारेका थिए । गोर्खा भूकम्पले जिल्लाका सात हजार ३३५ घरधुरीमा क्षति पुऱ्याएको थियो ।