सरकार जनअपेक्षाअनुसार काम गर्न असफल : थापा

सरकार जनअपेक्षाअनुसार काम गर्न असफल : थापा


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् । थापाले भने, ‘संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षाअनुसार काम हुन सकेन ।’

नेपाली कांग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज (मंगलबार) काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताए । ‘न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसेर काम गर्न पाएको छ,’ उनले भने ।

नेता थापाले नियमअनुसार संसदमा सांसदहरूले प्रस्ट हुन प्रश्न सोध्न पाउने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए । प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै थापाले प्रधानमन्त्रीले सदनमा कुरा राख्न आउने, तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने कस्तो खालको नीति हो भन्ने प्रश्न गरे ।

नेपाली कांग्रेसका वडा सभापति योगराज दाहालले केन्द्रमा विभिन्न नेताको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको उल्लेख गरे ।