काङ्ग्रेस नेता पौडेलको आग्रह- ‘माथिका हामी मिल्यौँ, कार्यकर्ताहरू पनि मिल्नुहोस्’

काङ्ग्रेस नेता पौडेलको आग्रह- ‘माथिका हामी मिल्यौँ, कार्यकर्ताहरू पनि मिल्नुहोस्’


उमेरले सात दशक काटेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सक्रियता यतिबेला बढेको पाइएको छ । मुलुकका विभिन्न भागमा पुगेर पार्टी कार्यकर्ताहरूसँग अन्तरक्रियात्मक शैलीमा प्रस्तुत हुने उपक्रम उनले बढाएका उनका निकटजनहरू बताउँछन् । बताइएअनुसार दुःख वा शोकमा परेका काङ्ग्रेसजनको घर–घर पुगेर समवेदना र सहानुभूति प्रकट गर्ने प्रयत्न उनले भ्याएसम्म गरिरहेका छन् ।

यसैक्रममा आइतबार उनी चितवन पुगे । प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा सहभागी हुन चितवन खैरहनीस्थित अधिकारी निवास पुगेका थिए ।

शोकसभालाई सम्बोधन गर्दै नेता पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिए । इमानदार भएर पार्टीको काममा खटिए पार्टीले मूल्याङ्कन गर्ने तर्क उनको थियो ।

नेपाली काङ्ग्रेस चितवनले आयोजना शोकसभालाई सम्बोधन गर्दै पौडेलले गुट भनेर कुनै पनि नेताको पछि लाग्न नहुने सुझाव दिए ।

महासमितिको बैठकपछि पार्टीभित्र एकताको सन्देश आएको दाबीसहित उनले भने– ‘म देउवा काङ्ग्रेस, पौडेल काङ्ग्रेस भनेर अब नलाग्नुस्, म नेपाली काङ्ग्रेस भनेर लाग्नुस् । गुटको पछि नलाग्ने हो भने आउने निर्वाचनबाट समृद्धिको नेतृत्व काङ्ग्रेसले नै गर्नेछ ।’

माथिल्लो तहमा आफूहरू मिलेको जनाउँदै उनले तल्लो तहमा तमाम कार्यकर्ताहरूलाई पनि मिल्न आग्रह गरे । मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन काङ्ग्रेसले मात्र सक्ने दाबी पनि उनले सो अवसरमा गरे ।

तस्बिर पौडेलपुत्री संज्ञाको फेसबुकबाट साभार