‘तत्काल मन्त्रिपरिषद फेरबदल नहुने’

‘तत्काल मन्त्रिपरिषद फेरबदल नहुने’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको तर्क गरेका छन् । बुटवलमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताए । अब यस अवसरलाई खेर पाल्न नहुने उनको भनाई थियो ।

सञ्चारकर्मी कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को बुटवलमा विमोचन गर्दै उनले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाए ।

दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको र सरकारले जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको उनले औंल्याए ।

जनतालाई विभिन्न किसिमले भ्रमित बनाउने र कम्युनिष्ट एकतालाई विफल पार्न दायाँ वा बायाँ कोणबाट वा देशीविदेशी शक्तिबाट विभिन्न चलखेल भइरहेको आरोप लगाउँदै उनले चलखेल निस्तेज पार्न सबैको हातेमालो जरुरी रहेको जिकीर गरे । विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको भन्दैअब कम्युनिष्ट आन्दोलनलाई अग्रगमनतर्फ भन्दा पनि रक्षात्मक तरिकाले अघि बढाउनु जरुरी रहेको तर्क प्रचण्डले गरे ।

कार्यक्रममा वरिष्ठ प्रगतिशिल लेखक तथा साहित्यकार दिल साहनीले लोकतन्त्रको सुदृढीकरणका लागि पत्रकारिताको खबरदारी सदैब हुनुपर्नेमा जोड दिए भने पत्रिकाका प्रकाशक तथा वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले विगतमा जस्तै देश, जनता र प्रजातन्त्रका खातिर पत्रकारितामार्फत योगदान दिन र लोकतन्त्रका विरोधीलाई खबरदारीका लागि आफूले पुनः पत्रिका प्रकाशन गर्न लागेको जानकारी दिए ।

बुटवलमै आयोजित अर्को एक भेलापछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले तत्काल मन्त्रिपरिषद् फेरबदल नहुने बताए । सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा गरिरहेको तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना नरहेको जानकारी प्रचण्डले दिएका हुन् ।

तस्बिर रासस