वाइड बडी मामलामा नबोलेपछि गगनद्वारा प्रधानमन्त्रीको विरोध

वाइड बडी मामलामा नबोलेपछि गगनद्वारा प्रधानमन्त्रीको विरोध


आइतबार संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरीदको विषय, सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेपछि सांसद थापाले प्रधानमन्त्रीको विरोध गरेका हुन् ।

सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राखेपछि प्रतिपक्ष दलका सांसदले प्रश्न गर्न पाउनुपर्ने माग राखेका थिए । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर नपाएको भन्दै सांसदहरुले विरोध गरेका हुन् ।

नेता थापाले सार्वभौमसत्ता सम्पन्न जनताले सांसद, अख्तियार, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, न्यायालयका बारेमा प्रश्न गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाए । सभामुख कृष्णबहादुर महराले प्रतिपक्षबाट सदन अवरोध गरेपछि १५ मिनेटका लागि सदन स्थगन गर्नुपरेको थियो।

आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति भएको पनि बताइएको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २५ गते बुधबार दिनको १ बजे बस्ने जनाइएको छ ।