सभामुखले हुकुमी शैली देखाए : गगन थापा

सभामुखले हुकुमी शैली देखाए : गगन थापा


कांग्रेस सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराले हुकुमी शैलीमा संसद चलाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गरेपछि उनको जवाफमा प्रश्न गर्न खोज्दा सभामुख महराले समय नदिएपछि कांग्रेसले नाराबाजी गर्दै संसदको बेल घेराउ गरेको थियो । सभामुखले त्यसपछि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि सांसद थापाले प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति नदिने सभामुखको शैली हुकुमी भएको सञ्चारकर्मीहरूसँग बताए ।

थापाको प्रश्न थियो– प्रधानमन्त्रीले प्रश्नको सामना गर्नु थिएन भने सिंहदरबारबाट मन्तव्य दिएको भए भइहाल्थ्यो नि, किन सदनको प्रयोग गरियो ?

थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधनपछि प्रश्न सोध्ने सहमति भएको थियो र त्यसका लागि कांग्रेसका पाँच सदस्यको नाम टिपाइएको थियो । थापाको भनाइ थियो– तर सभामुखले संसद नियमावलीको व्याख्या गर्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नमिल्ने बताए ।