समाजसेवी सागरलाई अबलाको साधुवाद

समाजसेवी सागरलाई अबलाको साधुवाद


रोजगारी, अध्ययन, बसाइँसराई या यस्तै अन्य कारणले विश्वका विभिन्न मुलुकमा बसोवास गर्ने नेपालीको सङ्ख्या दिनानुदिन बढ्दो छ । यसरी विदेशिन पुगेका हरेक नेपालीको मनमा देशको माया रहेकै हुन्छ भन्नेमा शङ्का गरिरहनु पर्दैन । तर, तन विदेशमा भए पनि मन र व्यवहारबाटै नेपाल र नेपालीलाई माया गर्ने कति होलान् ?

सात समुन्द्रपारि बसेर पनि स्वदेशकै चिन्ता गरिरहने, असहाय तथा दीन–दुःखीलाई सक्दो सहयोग उपलब्ध गराएर देशप्रतिको आत्मीयता दर्शाइरहने एक देशभक्तमा पर्छन्– अष्ट्रिया रहँदै आएका सागर सुवेदी ।

चितवन राप्ती नगरपालिका–४ निवासी अमृता थपलियाले सागरलाई ‘नामजस्तै फराकिलो व्यवहार भएका व्यक्ति’ भन्दै प्रशंसा गरेकी छिन् । व्यक्तिगत रूपले चिन्दैनचिने पनि आफ्नो पारिवारिक पीडामा मल्हम लगाउन प्रयास गरेको भन्दै उनले सुवेदीको प्रशंसा गरेकी हुन् ।

अमृता थपलिया एक छोरी दुई छोरा गरी तीन सन्तानकी आमा हुन् । उनका ठुली छोरी र एक छोरा कलेज पढ्दैछन् भने सानो छोरा विद्यालय तहमै छन् । पढाईमा रुचि राख्ने सन्तानका कारण अमृता सन्तुष्ट छिन्, तर श्रीमानले वर्षौंअघि घर छाडेर परिवारको बोझ आफ्नै टाउकोमा पारिदिएकाले उनी हरदम पीडामा बाँचिरहेकी छिन् ।

यस्तोमा छोराछोरीको पढाईलगायत घर खर्चको समस्याले पिरोल्नु स्वभाविक नै हुन्छ । आफन्त एवम् छिमेकीहरूको सरसहयोगबाट जीवन अघि बढाउँदै आए पनि सधैं यो सम्भव नहुने बुझेकी उनी छोराछोरीलाई उच्च शिक्षा दिलाएर जीवनमा खुशी भित्र्याउने सपनामा रमिरहेकी छिन् ।

यही कुरा कुनै शुभेच्छुकको माध्यमबाट सात समुन्द्रपारि बसेका सागरसम्म पुगेको र उनबाट बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने सत् उद्देश्यका साथ बीस हजार सहयोग प्राप्त भएको उनले बताइन् । आफ्नो लागि यो रकमले यतिबेला ठूलो महत्व राख्ने भन्दै समाजसेवी भावनाका सागरलाई धन्यवाद दिएकी छन् ।